खुम्बुमा असोजमै हिमपात

नेपालखोज २०८२ असोज २१ गते ६:५५

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ । हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ ।

यसवर्ष भने असोजको तेस्रो सातामै हिउँ परेपछि खुम्बु क्षेत्र सेताम्य भएको छ । यस क्षेत्रमा असोजमा हिउँ पर्नु दुर्लभ मानिन्छ । यसपटकको असोजको हिमपातले स्थानीय, व्यवसायी र आरोहण टोली प्रभावित भएका छन् ।

गत आइतबार बिहानदेखि सुरु भएको भारी वर्षापछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परेको छ । लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र सेताम्य बनेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार आइतबार परेको हिमपातले खुम्बुको माथिल्लो क्षेत्रको छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको थियो ।

नाम्चेभन्दा माथिल्लो क्षेत्रमा परेको हिउँले जनजीवन प्रभावित बनाएको छ, अधिकारीले भने, दिङ्बोचे क्षेत्रमा पाँच वटा होटल हिमपातबाट प्रभावित भएका छन्, तर मानवीय क्षति भने भएको छैन । दिङ्बोचे क्षेत्रका पाँच होटल जस्तासहितका संरचना हिउँको भार सहन नसकी भास्सिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले भने, नहिउँको भार र लगातारको वर्षाले छानाको संरचना भत्किँदा पाँच होटल भासिएका हुन् । मानवीय क्षति नभए पनि आर्थिक क्षति भने भएको छ । पर्यटन याम सुरु भइसकेका बेला परेको हिमपातले व्यापारीलाई थप चिन्तित बनाएको उनको भनाइ छ ।

असामान्य मौसमी परिवर्तन

खुम्बुमा असोजमै हिउँ पर्नु असामान्य मानिन्छ । सामान्यतया मङ्सिरदेखि माघमा मात्र यहाँ बाक्लो हिमपात हुन्छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसी) का अध्यक्ष लामाकाजी शेर्पाले भने, हिउँ असोजमा पर्नु जलवायु परिवर्तनको सङ्केत हो । मैले असोज महिनामा हिउँ परेको घटना कमै मात्रामा देखेको छु । यो दुर्लभ घटना हो ।

उनका अनुसार, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा मौसमको स्वरूप अनिश्चित बन्दै गएको छ । पहिले निश्चित समयमा हिउँ पर्ने र पग्लिनेक्रम हुन्थ्यो, अहिले त्यो तालमेल हराएको उनको भनाइ छ ।

जीवनशैली र कामकाज प्रभावित

हिमपातपछि खुम्बुका बासिन्दाको दैनिक जीवन प्रभावित भएको छ । असोज २० गते बिहान मौसम खुलेपछि केही हिउँ पग्लिए पनि चिसोले जनजीवन सुस्त बनेको स्थानीयको भनाइ छ । हिउँ परेपछि तापक्रम घटेको स्थानीय ल्हाक्पा ग्याल्जेन शेर्पाले भने।

हिउँका कारण खुम्बुमा निर्माणाधीन आमा दब्बलङ्ग जलविद्युत् आयोजनाको काम पनि रोकिएको छ । वडाध्यक्ष अधिकारीका अनुसार कामदारहरू चिसोका कारण नाम्चे झरेका छन् । मौसम अनुकूल भएपछि मात्रै काम सुरु हुनेछ उनको भनाइ छ ।

जलवायु परिवर्तनको प्रभावमा हिमाली जीवन

खुम्बु क्षेत्रमा पछिल्ला वर्षमा मौसममा अप्रत्यासित परिवर्तन देखिएको छ । कहिले असोजमै हिउँ पर्ने, कहिले माघमा हिउँ नपर्ने अवस्था बनेको छ । वातावरणविद्हरुका अनुसार तापक्रम वृद्धि र वर्षाको असन्तुलनका कारण हिमालमा हिउँको मात्रा घट्दै गएको छ । तर छोटो समयमा तीव्र हिमपात हुने घटना बढेका छन् ।

पहिले असोजदेखि मङ्सिरसम्म पर्यटकीय याम रहन्थ्यो, अहिले हिउँ र वर्षाका कारण बाटो बन्द हुने, उडान रोकिने, होटल खाली हुने समस्या छ, स्थानीय व्यवसायी तोयकुमार श्रेष्ठले भने ।

हिमाल जोगाऔँ, जलवायु सन्तुलन राखौँ

खुम्बुका बासिन्दाले असोजमै हिमपातपछि जलवायु सन्तुलनका लागि स्थानीय तह र सरकार दुवैले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । हामीले केही वर्षयता जलवायु परिवर्तन महसुस गर्दै आएका छौँ, नाम्चेका सुमन मोक्तानले भने, अहिले हिउँ असामान्य समयमा पर्छ, गर्मी असामान्य बेला आउँछ । यो हिमालको स्वरूप बदलिँदैछ ।

स्थानीय जनप्रतिनिधिले पनि जलवायु अनुकूलन कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । हिउँ असामान्य समयमा परेपछि ढुवानी, पर्यटन र जनजीवन सबै प्रभावित हुन्छ, खुम्जुङका वडाध्यक्ष लक्ष्मण अधिकारीले भने, हाम्रो आर्थिक जीवन हिउँसँगै बाँधिएको छ, त्यसैले राज्यले पनि यस क्षेत्रमा विशेष योजना ल्याउनुपर्छ ।

कोरियाली आरोहीको मृत्यु

महाकुलुङ गाउँपालिका–३ स्थित मेरापिक हिमाल आरोहणका क्रममा यही असोज २० गते कोरियाली नागरिक टेजुुन पार्कको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

डिएसपी मनोजित कुँवरका अनुसार पार्क असोज १८ गते मेरापिक हिमाल आरोहणका क्रममा छ हजार ४६० मिटर उचाइमा पुगेका थिए । मौसम प्रतिकूल भएपछि पार्क र नेपाली गाइड तेम्बा शेर्पा बेपत्ता भएका थिए । खोजतलास गर्दा तेम्बा शेर्पा छ हजार १०० मिटर उचाइमा जीवित फेला परेका थिए भने पार्क मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक पार्कको शव हेलिकप्टरमार्फत लुक्ला ल्याई आवश्य प्रकृया पूरा गरी काठमाडौंको शिक्षण अस्पतालमा शव परीक्षणका लागि पठाइएको कुँवरले जानकारी दिए । प्रारम्भिक अनुसन्धान अनुसार, अत्यधिक चिसो र अक्सिजनको कमीका कारण पार्कको ज्यान गएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

दसैँ सौहार्दपूर्ण वातावरणमा सम्पन्न

हिमपात, दुर्घटना र आरोहणका घटनाबीच पनि सोलुखुम्बुमा यस वर्षको दसैँ उत्साहपूर्वक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म कुनै ठूलो अप्रिय घटना भएको छैन । छिटफुट घटनाबाहेक दसैँ शान्तिपूर्वक बित्यो, डिएसपी कुँवरले भने । यद्यपि यही असोज १५ गते माप्य दूधकोसी गाउँपालिका–१ जुभिङमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका थिए ।

प्रहरीका अनुसार ४९ वर्षीय मंगलमान राईले मादक पदार्थ सेवनपश्चात आफ्नी श्रीमती र दुई छिमेकीलाई खुकुरी प्रहार गरेका थिए । हाल राईलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको छ ।

साथै शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले सोलुदुधकुण्ड नगरपालिका–३ फलामखानीका प्रविण विश्वकर्माको घर बगाएको छ । वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाका अनुसार रातको समयमा आएको पहिरोले घर पूर्ण रूपमा क्षति पुर्याएको भने परिवारका सदस्य सकुशल छन् । उक्त घटनामा एक राँगो र चार वटा बाख्रा मरेका छन् । स्थानीयले बिहान पहिरोको अवस्था स्थलगत अवलोकन गरी राहतको पहल थालेका छन् ।

प्रतिक्रिया