दसैँको दक्षिणालाई सिर्जनात्मक काममा सदुपयोग गर्दै टीकापुरका बालबालिका

टीकापुर (कैलाली) । कैलालीका अविन शर्माले यस वर्ष दसैँमा मान्यजनबाट टीका लगाएर दक्षिणा दुई हजार ५० प्राप्त गरेका छन् । कक्षा ७ मा अध्ययनरत उनले सो रकमलाई अध्ययनका लागि आवश्यक कापी, कलम, चित्र बनाउन आवश्यक ‘कलर’ र रङ्गीन पेरपर किन्ने तयारीमा रहेको जानकारी दिए ।
‘विगतमा दसैँको दक्षिणा मनपरेको खानेकुरा खाने, बचेको रकम खुत्रुकेमा राख्ने गर्दथेँ’, उनले भने, ‘यस वर्ष पढाइका लागि आवश्यक सामान किन्छु । अनावश्यक खर्च नगर्ने योजना बनाएको छु ।’
किशोरी नेहा उपाध्याय पनि दसैँको दक्षिणा आफूलाई आवश्यक भएको सामान किन्नमा खर्च गर्ने बताउनुहुन्छ । कक्षा ११ मा अध्ययनरत उनलाई रकम बचतको महत्वबारे राम्रो ज्ञान छ । ‘यो बेला म मात्र होइन मेरो भाइबहिनीको हातमा पनि पैँसा छ, कक्षाकोठामा शिक्षकले दक्षिणा बचतबारे सिकाउनु भएको थियो’, उनले भने, ‘मैले घर गएर भाइबहिनीलाई बचत गर्नुपर्छ भनी सिकाएकी छु । यसपटक मसँग पढाइका लागि अत्यावश्यक सामान किन्ने तयारी छ ।’
दसैँका समयमा अधिकांश बालबालिकाको हातमा सुकिला नोट हुन्छन् । मान्यजनबाट दक्षिणामा पाएको रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गरेको देखिन्छ । कक्षा ५ मा अध्ययनरत स्मीता धामीले पनि यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजना बनाएका छन् । चार महिनादेखि चित्रकला तथा नृत्य सिकिरहेकी उनलाई आवश्यक सामग्री किन्नुपर्छ भन्ने लागेको छ । ‘चित्रकलामा रुची छ, केही समयदेखि सिकिरहेकी छु’, उनले भने, ‘बुवाआमालाई आर्थिक भार पार्नुभन्दा यसपटक आफ्नै रकमले किन्छु ।’
दसैँमा प्राप्त गरेको दक्षिणा अनावश्यक खर्च गर्ने, वनभोज तथा घुमघाममा खर्च गर्ने चलन छ । यसरी अनावश्यक काममा तथा घुमघाममा खर्च गर्नुभन्दा आवश्यक सामान खरिदमा खर्च गर्दा रकमको सही सदुपयोग हुन्छ ।

प्रतिक्रिया