अधिकांश नेताहरुकाे एकै स्वार : मंसिरभित्रै विधि प्रक्रिया पुरा गरेर महाधिवेशन

काठमाडाैं । नेपाली कांग्रेसका अधिकांश नेताहरुले आगामी मंसिरभित्रै विधि प्रक्रिया पुरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका छन् ।
बिहीबारबाट पार्टी कार्यालय सानेमा सुरु कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा धारणा राख्ने नेताहरुले नियमित महाधिवेशनमा जोड दिँदै त्यसका लागि बिधि प्रक्रिया पुरा गरेर मंसिरभित्रै महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने धारणा राखेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
त्यस्तै जेनजी आन्दोलनका क्रममा दलका नेताहरुमाथि आक्रमण, व्यवसाय, राष्ट्रिय संरचनामा तोडफोड र आगजनी गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा सवै नेताहरुको समान धारणा रहेको उनले बताए ।
उनले अहिलेको अवस्थामा सवै दलहरुबीच समान धारणा बनाउन आवश्यक रहेकाले कांग्रेसले त्यसको पहल गर्ने जिकिर गरे । प्रवक्ता महतले गृह मन्त्रालयले नै घटनामा संलग्नलाई कारबाही नगर्न दबाब दिएको कुरा आएकाले त्यसमा पार्टीको गम्भीर असहमति रहेको उल्लेख गरे ।
उनले विश्वसनीय निर्वाचनको आधार नदेखिएपनि मुलुकलाई निकास दिनका लागि निर्वाचनका लागि कांग्रेस तत्पर रहेको बताए ।
नेताहरुले धारणा राख्न बाँकी रहेकाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक शुक्रबार पनि बस्ने प्रवक्ता महतले बताउनुभयो । बैठकले असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया