शुक्लाफाँटामा आधुनिक फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा

नेपालखोज २०८२ असोज २६ गते १३:५२

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा आधुनिक एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । बजार तथा ग्रामीण क्षेत्रमा उत्सर्जन हुने फोहरमैला सङ्कलन गरेर केन्द्रमा ल्याइन्छ । केन्द्रमा रहेका सफाइकर्मीले कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहरलाई छुट्याएर राख्छन् ।

केन्द्रमा सङ्कलित फोहरलाई वर्गीकरण गरेपछि कुहिने फोेहरबाट कम्पोस्ट मल उत्पादन गरिन्छ भने पुनःप्रयोग गर्न सकिने फोहरलाई कबाडीमा बिक्री गरिन्छ । ३० करोड २५ लाख लगानीमा निर्माण भएको फोहर व्यवस्थापन केन्द्र तीन दशमलव नौ हेक्टर क्षेत्रफलमा फैलिएको छ । करिब छ मेट्रिकटन क्षमता भएको केन्द्रमा अहिले दैनिक दुईदेखि तीन मेट्रिकटन मात्रै फोहर सङ्कलन भइरहेको एकीकृत फोहर व्यवस्थापन केन्द्रका इन्जिनियर जयन्त भट्टले जानकारी दिए ।

बिहान फोहर सङ्कलक गाडी नगरको सहरी र ग्रामीण क्षेत्रमा डुलेर फोहर सङ्कलन गरेर ल्याउने यहाँले बताए । केन्द्रमा कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहरलाई छुट्याएर राखिने र कुहिने फोहरबाट ‘कम्पोष्ट’ मल तयार गरेर बिक्री गरिने योजना रहेको इञ्जिनियर भट्टले बताए । यसले वातावरण स्वच्छ राख्न र फोहरमैलाको उचित व्यवस्थापनमा मात्रै नभई स्थानीयमा रोजगारीको अवसर पनि सिर्जना गरेको छ ।

निर्माणको काम सम्पन्न भएपछि गत भदौदेखि फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको निर्माण कम्पन्नी रमन केएस जेभीका साइट इञ्चार्ज उद्धवसिंह साउदले जानकारी दिए ।

फोहरमैला व्यवस्थापन केन्द्रमा १० वटा फोहर सङ्कलन गर्ने साधन छन् । आठ जना सरसफाइ कर्मचारी राखिएको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण भएको हो । रमन केएस जेभी धनगढीसँग २०७९ वैशाख २५ मा निर्माण सम्झौता भएको थियो । फोहरमैला व्यवस्थापन केन्द्रको क्षमता छ मेट्रिक टन रहेको भए पनि अहिले दैनिक क्षमताको आधा मात्रै फोहर सङ्कलन भइरहेको छ ।

शुक्लाफाँटामा सञ्चालनमा आएको एकीकृत फोहर व्यवस्थापन केन्द्र कञ्चनपुरको पहिलो हो । यस्तै, फोहर व्यवस्थापन केन्द्र भीमदत्तमा पनि निर्माण गर्ने तयारी भए पनि त्यसका लागि स्थान नपाउँदा परियोजना फिर्ता भएको छ । स्थानीयले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्दा त्यसले वातावरण प्रदूषित हुने भन्दै विरोध गरेपछि परियोजना फिर्ता भएको होे ।

फोहरमैला व्यवस्थापन केन्द्रमा कुहिने फोहरबाट मलखाद बनाइने र नकुहिने तर पुनःप्रयोग गर्न सकिने वस्तु प्रशोधन गरिने भएकाले यो वातावरणीय प्रदूषण न्यूनीकरण गर्न र स्थानीयस्तरमा आम्दानीको स्रोतसमेत बनेको छ ।

प्रतिक्रिया