बुधबार, पुष ९, २०८२

दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तीमा ४० जनाको मृत्यु

नेपालखोज २०८२ असोज २७ गते १३:१०

जोहनस्बर्ग । दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा भएको एक भीषण बस दुर्घटनामा परी कम्तीमा ४० जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा मालावी र जिम्बावेका नागरिकहरू पनि रहेका छन् ।

दुर्घटना आइतवार भएको हो, जब जिम्बावे जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा गम्भीर दुर्घटना भएको थियो । बस दक्षिण अफ्रिकाको ग्क्वेबेर्हा सहरबाट छुटेको थियो, जुन जिम्बावे सीमाबाट करिब एक हजार ५०० किलोमिटर टाढा पर्छ ।

लिम्पोपो प्रदेशकी यातायात मन्त्री भायोलेट माथ्येका अनुसार, हाल उद्धारकार्य जारी छ, तर अहिलेसम्म ४० जनाको मृत्यु पुष्टि भइसकेको छ । मृतकमध्ये एक १० महिनाकी बालिका पनि रहेको उनले जानकारी दिए ।

उक्त दुर्घटनामा ३८ जना यात्रु घाइते भएका छन्, जसलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उद्धार टोलीले अझै पनि बाँकी यात्रुहरूको खोजी गरिरहेको छ । दुर्घटनाको सम्भावित कारणबारे मन्त्री माथ्येले भने,चालकको थकान वा गाडीमा आएको यान्त्रिक खराबीका कारण दुर्घटना भएको हुन सक्छ ।

दक्षिण अफ्रिका आधुनिक सडक सञ्जाल भएको मुलुक भए पनि दुर्घटनाको दर निकै उच्च छ । यहाँको सडक दुर्घटनामा प्रायः अतिवेग, लापरवाहीपूर्ण ड्राइभिङ र असुरक्षित सवारीसाधनहरू जिम्मेवार हुने गरेको बताइन्छ ।

प्रतिक्रिया