इलाका प्रशासन लहानबाट राहदानी सेवा पुन : नियमित

नेपालखोज २०८२ असोज २८ गते १०:२१

सिरहा । यहाँको लहानस्थित इलाका प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटपछि बन्द रहेको राहदानी सेवा पुन: नियमित गरेको छ । कार्यालय प्रमुख उपसचिव वेदनिधि खनालका अनुसार आवश्यक विद्युतीय उपकरण पुन: जडान भएसँगै सोमबारदेखि सेवा औपचारिक रूपमा पुनः सुरु गरिएको हो ।

‘अब नियमित रूपमा राहदानी सेवा दिन थालिएको छ’, उनले भने, ‘राहदानी विभागबाट प्राप्त कम्प्युटर सेट, स्क्यानर, क्युआर रिडर, सिग्नेचर प्याड, स्ट्यान्ड र क्यामेरासहित विभागसँग लिङ्क रहेको इन्ट्रानेट जडान भएपछि सेवा पुन: सुरु भएको हो ।’

तर सोमबार ‘वेब साइट’मा प्राविधिक समस्या देखिएकाले सो दिन पूर्ण सेवा दिन नसकिएको जनाउँदै उनले आजबाट भने पूर्ण रूपमा सेवा सुरु हुने जानकारी दिए ।

प्रमुख खनालका अनुसार अहिले शाखाबाट दैनिक ५० जनालाई सेवा दिने व्यवस्था गरिएको छ । सेवा सञ्चालनसँगै अनलाइन फर्म रुजु गर्ने, बायोमेट्रिक विवरण लिने कार्य सुरु भएको छ । ‘यदि सेवाग्राहीले अनलाइन फर्ममा दिएको विवरण र राष्ट्रिय परिचयपत्रमा उल्लेख विवरण मिल्यो भने सम्बन्धित सेवाग्राहीको मोबाइलमा सन्देशमार्फत जानकारी पठाइनेछ’, उनले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा लुटिएको राष्ट्रिय परिचयपत्र शाखाको क्यामेरा फिर्ता भएपछि भने इलाकाले असोज ५ गतेदेखि नै राष्ट्रिय परिचयपत्रको सेवा सुरु गरिसकेको थियो । कार्यालयका शाखा अधिकृत सन्तोष रायका अनुसार अहिले दैनिक करिब ७० जनासम्मको विवरण दर्ता गर्नेगरी सेवा प्रवाह भइरहेको छ, जुन आन्दोलनअघि करिब डेढ सय जनासम्म पुग्ने गरेको थियो ।

उक्त आन्दोलनका क्रममा कार्यालयमा भएको सामान्य आगजनी र तोडफोडबाट करिब १५ लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रमुख खनालले जानकारी दिए । इलाका प्रशासन कार्यालयले सिराहाको धनगढीमाई नगरपालिकाको १२, १३, १४, लक्ष्मीपुरपतारी गाउँपालिकाको २ र ६, नवराजपुर गाउँपालिकाको १, सखुवानन्कारकट्टी र भगवानपुर गाउँपालिकाको १ देखि ५ नं वडासहित लहान नगरपालिकाको १ देखि २४ नं वडाका नागरिकलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया