बुधबार, पुष ९, २०८२

हमासले फिर्ता गरेका चार बन्धकमध्ये नेपाली विद्यार्थी विपीन जोशीसहितको शव पहिचान

नेपालखोज २०८२ असोज २८ गते १५:५८

जेरुसेलम । इजरायली सेनाले मङ्गलबार हमासले फिर्ता गरेका चार जना बन्धकमध्ये एक नेपाली विद्यार्थी बिपिन जोशी र इजरायली नागरिक गाइ इलुजको शव पहिचान गरिएको पुष्टि गरेको छ । अन्य दुई बन्धकको नाम भने परिवारको अनुरोधमा हाललाई सार्वजनिक गरिएको छैन ।

इजरायली सेनाले एक विज्ञप्तिमा २६ वर्षीय गाइ इलुज सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा दक्षिण इजरायलमा आयोजित नोभा सङ्गीत महोत्सवमा सहभागी भएका बेला अपहरणमा परेका थिए ।

आक्रमणको समय उनी जिपमा भाग्ने प्रयासमा थिए र पछि रूखमा लुक्नुभएको थियो, जहाँबाट उनले आफ्ना आमाबाबुसँग अन्तिम सम्पर्क गरेका थिए । त्यसपछि उनलाई कब्जा गरी गाजामा लगिएको थियो ।

सेनाका अनुसार इलुज अपहरणका क्रममा घाइते हुनुभएको थियो र कैदमा रहँदा उपचारको अभावमा मृत्यु भएको थियो । उनको मृत्युको सटीक मिति सार्वजनिक नगरिए पनि सन् २०२३ डिसेम्बरमा उनको निधन पुष्टि गरिएको थियो । इलुज प्रसिद्ध इजरायली सङ्गीतकारहरूका लागि ध्वनि टेक्निसियनको रूपमा कार्यरत थिए ।

२२ वर्षीय नेपाली विद्यार्थी विपीन जोशी हमासको आक्रमण हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि तालिमका लागि इजरायल पुगेका थिए । उनी किबुट्ज अलुमिममा रहेका बेला अपहरणमा परेका थिए । आक्रमण हुनुअघि उनले त्यहाँका थाई कामदारहरूसँग शरण लिएको एउटा तस्बिर सार्वजनिक भएको थियो । इजरायली सेनाका अनुसार युद्धको पहिलो महिनाहरूमा कैदमै उनको हत्या गरिएको अनुमान गरिएको छ ।

जोशीका सहपाठी हिमाञ्चल कट्टेलले एएफपीसँगको कुराकानीमा आक्रमणका क्रममा आतङ्ककारीहरूले उनीहरू लुकेका आश्रयमा ग्रेनेड फ्याँकेको जसलाई जोशीले समातेर विस्फोट हुनुअघि बाहिर फ्याँकिदिएको बताए । उनको वीरताले मेरो ज्यान बचायो, कट्टेलले भावुक हुँदै भने ।

होस्टेजेस एन्ड मिसिङ फेमिलिज फोरम नामक मुख्य इजरायली समूहले विज्ञप्ति जारी गर्दै भनेको छ, गाइ र विपीनको पुनरागमनले दुई वर्षभन्दा बढी समयदेखि पीडादायी अनिश्चिततामा बाँचिरहेका परिवारहरूलाई केही हदसम्म सान्त्वना दिएको छ । तर हामी सबै २४ जना बन्धक घर फर्किएसम्म आराम गर्नेछैनौँ ।

हमासले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताको एक अङ्गका रूपमा सबै २० जना जीवित बन्धक रिहा गरेसँगै चार शव फिर्ता गरेको थियो । प्यालेस्टिनी लडाकूहरूका हातमा अझै २४ जना बन्धकका शव रहेका छन् । ती शवलाई पनि युद्धविराम सम्झौताका सर्तअनुसार निकट भविष्यमा फिर्ता गरिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया