‘भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्छ’

काठमाडाैं । भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने भन्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र श्रमजीवी जनताको अधिकार कुण्ठित गरेको भन्दै उनीहरुले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका हुन् । उनीहरुले भूमि समस्या समाधान आयोग पुर्नस्थापना गर्नुपर्ने माग राखेका छन् ।
प्रदर्शनमा सहभागीहरुले भूमिहिनलाई जमिन दे, भूमि आयोग पुर्नस्थापन गर् लगाएतका प्लेकार्ड देखाएका थिए । त्यसैगरि उनीहरुले काठमाडौं महानगरका प्रमुख बालेन शाहले किसानलाई होच्चाउने काम गरेको भन्दै किसानसंग माफी माग्नुपर्ने जनाएका छन् ।
भूमि समस्या समाधानका लागि प्रदान गरिएको कार्यदेशको आधारमा आयोगले प्रभावकारी ढंगले कार्य गरिरहेको अवस्थामा बिघटन गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै महासंघ र संगठन आन्दोलित भएका हुन् । उनीहरुले असोज २९ गते मुलुकका ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने जनाएका छन् ।

प्रतिक्रिया