पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

नेपालखोज २०८२ असोज २८ गते २१:४१

म्याग्दी । गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने सडक सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, शिख, घोडेपानी, कास्कीको उल्लेरी, बिरेठाटी हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नयाँपुल जोड्ने सडकमा यातायात सञ्चालन गर्न थालिएको हो ।

मध्यपहाडी लोकमार्गको नयाँपुलबाट कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा पर्ने पोखरेबगर जोड्ने यो सडकको आज घोडेपानीमा म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्षद्वय भारतकुमार पुन र विष्णुबहादुर केसीले संयुक्त रूपमा उद्घाटन गरे ।

नयाँपुल, कुश्मा, बेनी हुँदै पोखरेबगर जोड्ने सडकभन्दा यो सडक करिब ४० किलोमिटर छोटो दूरीको हुने र पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको गाउँपालिकाका अध्यक्ष पुनले बताए । स्थानीयवासीका साथै कास्कीको नयाँपुलबाट म्याग्दीको बेनी हुँदै पोखरेबगर खण्डको मुख्य राजमार्गमा अवरोध हुँदा, घोडेपानीको भ्रमण गर्न इच्छुक यात्रुहरूले यो सडक प्रयोग गर्नसक्ने उहाँले जानकारी दिए ।

पोखरेबगरबाट तल्लो घोडेपानी र कास्कीको नयाँपुुलबाट उल्लेरी हुँदै वनठाँटी भालओरालसम्म यसअघिनै सडक निर्माण भएर यातायात सञ्चालन हुँदै आएको थियो । योसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, ६, कास्कीको अन्नपूर्ण–७, ८ र ९ नम्बर वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।

स्थानीयवासीले चन्दा सङ्कलन गरेर घोडेपानी–नागेठाँटी–वनठाँटी खण्डमा करिब दुई किलोमिटर ट्याक निर्माण गरेपछि दुई वटा जिल्ला सडक सञ्जालमा जोडिनुका साथै राष्ट्रिय राजमार्गको वैकल्पिक सडक तयार भएको हो ।

सडक निर्माणमा शिख, घार र घोडेपानीका बासिन्दाबाट रु १६ लाख ६० हजार ५३५ सङ्कलन भएकोमा रु १६ लाख पाँच हजार ५७६ खर्च भएको घोडेपानी–उल्लेरी सडक निर्माण पहल समितिका कोषाध्यक्ष चन्द्र पुनले जानकारी दिए ।

प्रतिक्रिया