‘अहिलेकोे परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि मेराे महत्त्पूर्ण भूमिका छ’

नेपालखोज २०८२ असोज २९ गते १४:१०

काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीति अवस्थाका बारेमा विभिन्न दलहरूसँग छलफल तथा परामर्श गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको बैठकमा दलका प्रतिनिधिहरूले आ-आफ्ना दलका तर्फबाट दृष्टिकोण र धारणा राखे । छलफलमा सभामुख घिमिरेले अहिलेकोे परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि आफ्नो महत्त्पूर्ण भूमिका रहने जनाउँदै त्यसका लागि सबै दलको आवश्यक सहयोगको अपेक्षा गरे ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरेले कांग्रेस लोकतान्त्रिक दल भएकाले निर्वाचनबाट पछि नहट्ने जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन मुख्य सचेतक महेशकुमार बर्ताैताले संसद् विघटनका सम्बन्धमा अदालतमा निवेदन परिसकेकाले त्यसको व्याख्याका सम्बन्धमा सर्वाेच्च अदालतले आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गरे ।

उनले जेनजी प्रदर्शनका क्रममा उठेका जायज माग संसद्मार्फत संशोधन गरेर भोलिका दिनमा ताजा जनादेशका माध्यमबाट मुलुकलाई अघि बढाउन सकिने धारणा व्यक्त गरे । उनले संसद् पुनःस्थापना गरेर राजनीतिलाई मूलधारमा ल्याउन सकिने आफ्नो पार्टीको धारणा रहेको उल्लेख गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले सरकारले उपयुक्त वातावरण बनाएमा आफ्नो पार्टीले निर्वाचनमा जाने निर्णय गरेको जानकारी गराए । निर्वाचनले मात्रै वर्तमान राजनीतिलाई मूलधारमा ल्याउने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया