एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव

नेपालखोज २०८२ असोज २९ गते १५:३८

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

ललितपुर, जावलाखेलको भनिमण्डलस्थित रामबाघ महलमा आजदेखि सुरू भएको पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकको बहस नोट कमिटीको संयोजकमा सूर्य थापालाई चयन गरेको छ । कमिटीको सदस्यमा विष्णु रिजाल र नीरज आचार्य तथा बैठकको समसामयिक प्रस्ताव लेखनको संयोजकमा उपमहासचिव प्रदीप ज्ञवाली र सदस्यमा राजेन्द्र गौतम र महेश बर्तौला रहेका छन् ।

पार्टी अध्यक्ष ओलीले राजीनितक प्रतिवेदनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र वर्तमान सरकारका बारेमा प्रस्तुतीकरण गरे । प्रतिवेदनमा गणतन्त्र, संविधानमा एकताबद्ध र रक्षाका लागि लोकतान्त्रिक शक्तिबीच सहकार्य गर्ने उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीको प्रतिवेदनपछि आजै नै प्रदेशगत रूपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ ।

केन्द्रीय सदस्यहरूलाई वर्णाक्रमनुसार आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । बैठक यही असोज ३१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया