बुधबार, पुष ९, २०८२

महाभियोग लगाइएका राष्ट्रपति राजोलिनाद्वारा मडागास्करबाट पलायनको पुष्टि

नेपालखोज २०८२ असोज ३० गते १६:५१

एन्टानानारिभो (मेडागास्कर) । हप्तौँदेखि चलिरहेको विरोध प्रदर्शन र सैन्य हस्तक्षेपले देशलाई सङ्कटमा पारेपछि मडागास्करका पदच्युत राष्ट्रपति एन्ड्री राजोलिनाले पहिलोपटक आफू देशबाट पलायन गरेको पुष्टि गरेका छन् ।

राष्ट्रपति राजोलिनाले अक्टोबर ११ र १२ तारिखको बीचमा ‘राज्य प्रमुखको जीवन विरुद्ध स्पष्ट र अत्यन्त गम्भीर धम्कीहरू’ आएको भन्दै त्यसपछि देश छोड्न बाध्य भएको बताए । उनले बुधबार राति जारी गरेको विज्ञप्तिमा भनेका छन्, म विदेशी यात्रामा रहेका बेला ती धम्कीहरू प्राप्त भएका थिए ।

एएफपीलाई पठाइएको उक्त विज्ञप्तिअनुसार राजोलिनाको भ्रमणलाई नियमित सरकारी भ्रमणका रूपमा देखाइए पनि ती धम्कीहरूका कारण उनले तत्काल देश त्याग गरेका हुन् । मिडिया रिपोर्टहरूले ५१ वर्षीया नेतालाई आइतबार फ्रान्सेली सैन्य विमानमार्फत बाहिर निकास गरिएको सङ्केत गरेका थिए ।

राजोलिनाले सोमबार दिएको एक संक्षिप्त प्रतिक्रियामा आफू ‘सुरक्षित स्थानमा’ रहेको उल्लेख गर्नुभएको थियो तर गन्तव्य खुलाउन अस्वीकार गरेका थिए ।

सन् २००९ मा सैन्य समर्थनसहितको आन्दोलनपछि पहिलोपटक सत्तामा पुगेका राजोलिनाले हालै राष्ट्रिय सभाले सेनासँग मिलेर आफूलाई असंवैधानिक रूपमा हटाएको आरोप लगाएका छन् ।

यता सत्ता नियन्त्रणमा लिएका सैन्य अधिकारीहरूले कर्नेल माइकल रान्ड्रियानिरिनालाई नयाँ राष्ट्रपतिका रूपमा चयन गरिएको जनाएका छन् । उनले शुक्रबार औपचारिक रूपमा शपथ लिने बताइएको छ ।

पानी र विद्युत् अभावका कारण गत सेप्टेम्बर २५ देखि सुरु भएको जनआन्दोलनले रान्ड्रियानिरिनाको हस्तक्षेपलाई ‘जनताको जीत’ भन्दै स्वागत गरेको छ । उक्त आन्दोलनलाई युवा नेतृत्वको ‘जेन जेड’ आन्दोलनका रूपमा चिनिन्छ ।

अन्तर्राष्ट्रिय समुदायले भने यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घले यसलाई ‘असंवैधानिक सत्ता कब्जा’ भन्दै कडा निन्दा गरेको छ भने अफ्रिकी युनियनले बुधबारदेखि तत्काल प्रभावबाट मडागास्करको सदस्यता निलम्बन गर्ने घोषणा गरेको छ ।

माली, बुर्किना फासो, नाइजर, ग्याबोन र गिनीमा पछिल्ला वर्षहरूमा भएका सैनिक कूपछि सन् २०२० यता सैन्य शासनको चपेटामा परेका अफ्रिकाका पूर्व फ्रान्सेली उपनिवेशहरूमध्ये मडागास्कर अहिले पछिल्लो सदस्य बनेको छ ।

प्रतिक्रिया