उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता

मोन्टेभिडियो । उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानूनी रूपमा अनुमति दिइएका मुलुकहरूमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देशमध्ये एक बनेको छ ।
दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र गर्भपतनलाई वैधानिकता दिँदै उदार कानूनहरूको इतिहास बनाइसकेको छ । अब ‘गरिमापूर्ण मृत्यु’ सम्बन्धी विधेयक पारित भएपछि इच्छामृत्यु पनि त्यस सूचिमा थपिएको हो । सिनेटमा भएको मतदानमा उपस्थित ३१ मध्ये २० जना सांसदले विधेयकको समर्थन गरेका थिए ।
तल्लो सदन अर्थात् प्रतिनिधिसभाले यसअघि अगस्टमा यसलाई अनुमोदन गरिसकेको थियो । करिब १० घण्टासम्म चलेको गम्भीर र भावनात्मक बहसपछि यो मतदान सम्पन्न भएको हो । यसलाई धेरै सांसदले ‘राजनीतिक रूपमा सबैभन्दा कठिन विषय’ भनेका थिए । विधानसभा भवनको ग्यालरीमा उपस्थित दर्शकमध्ये केहीले निर्णयपछि ‘हत्याराहरू’ भन्दै नाराबाजी गरे पनि बहस प्रायः मर्यादित र सभ्य रहेको थियो ।
म अहिले अत्यन्त राहत र खुशी महसुस गर्दैछु, इच्छामृत्युका समर्थक फ्लोरेन्सिया सालगुइरोले मतदानपछि एएफपीसँग भने । उनले आफ्ना दिवङ्गत पिताको पीडादायी अन्तिम दिन सम्झिँदै भने, मेरो बुबा ल्यु गेहरिग रोगले असह्य पीडा भोग्दै बाँच्न बाध्य भए, तर आफ्नो इच्छा पूरा नगरी नै जानुभयो । ल्याटिन अमेरिकामा इच्छामृत्युबारे कानूनी मान्यता दिने प्रयासमा उरुग्वे अग्रणी बनेको छ ।
कोलम्बिया र इक्वेडरमा अदालतले कानून पारित नगरी नै इच्छामृत्युलाई अपराधमुक्त गरेको छ भने क्युबाले टर्मिनल बिरामीलाई कृत्रिम जीवन समर्थन अस्वीकार गर्ने अधिकार दिएको छ । उरुग्वेको सत्तारूढ वामपन्थी फ्रेन्टे एम्प्लियो पार्टीले विधेयक अघि सारेको थियो, जसले धार्मिक दक्षिणपन्थी समूहहरूबाट कडा विरोधको सामना गर्नुपरेको थियो । तर हालैको एक सर्वेक्षण अनुसार देशका ६० प्रतिशतभन्दा बढी नागरिकले कानूनी इच्छामृत्युलाई समर्थन गरेका छन् भने २४ प्रतिशतले मात्र विरोध गरेका छन् ।
नयाँ कानूनअनुसार वयस्क उरुग्वे नागरिक वा त्यहाँका स्थायी बासिन्दा जसको मानसिक क्षमता ठीक छ र असाध्य रोगको अन्तिम चरणमा छन् तर तिनीहरू निरन्तर पीडामा छन् भने तिनीहरूले चिकित्सकको सहयोगमा आफ्नो जीवन अन्त्य गर्न सक्नेछन् । दुई दशकदेखि न्युरोडिजेनेरेटिभ रोग एएलएससँग सङ्घर्ष गर्दै आएकी ७१ वर्षीया बिट्रिज गेलोसले भने, यो निर्णय अत्यन्त दयालु र मानवतावादी हो ।
विरोधीहरूलाई यस्तो जीवन बिताउन कस्तो हुन्छ भन्ने थाहा छैन । त्यस्तै वकिल मोनिका कानेपाका छोरा पाब्लो (३९) असाध्य रोगले पूर्ण रूपमा पक्षघातले ग्रस्त छन् । उनले भावुक हुँदै भने, पाब्लो केवल बाँचिरहेका छन्, तर त्यो जीवन होइन । उरुग्वे मेडिकल एसोसिएसनले आफ्ना सदस्य चिकित्सकहरूलाई व्यक्तिगत अन्तःकरणअनुसार निर्णय गर्न स्वतन्त्रता दिने बताएको छ तर यसबारे कुनै आधिकारिक कदम चालेको छैन ।
क्याथोलिक चर्चले भने उक्त निर्णयप्रति ‘गहिरो दुःख र चिन्ता’ व्यक्त गरेको उल्लेख गर्दै भनेको छ, जीवन पवित्र हो र यसको अन्त्य कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन । यससँगै उरुग्वेले मानव मर्यादाको प्रश्नमा ल्याटिन अमेरिकामा नयाँ नजीर स्थापित गरेको छ ।








प्रतिक्रिया