शनिबार, मंसिर २७, २०८२

बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण

नेपालखोज २०८२ असोज ३१ गते २०:३९

काठमाडौं । चलचित्र विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहेका १७८ जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ ।

चाबहिलस्थित बोर्डको सभाहलमा आज आयोजित एक विशेष समारोहमा बोर्डका अध्यक्ष दिनेश डिसी, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला लगायतले उक्त परिचयपत्र प्रदान गरेका हुन् ।

अध्यक्ष डिसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेशागत पहिचान रहेको भएको बताउँदै अन्तरराष्ट्रियस्तरमा मान्यता दिलाउने विश्वास व्यक्त गरे । उनले भने, चलचित्रकर्ममा जीवन समर्पित गरेका चलचित्रकर्मीलाई राज्यले दिएको यो एउटा पहिचान हो । यसको महत्त्व विस्तारै प्रस्टिनेछ । साथै, हामी स्वास्थ्य बिमाको सुविधा थपेका छौँ । आगामी दिनमा उक्त कार्डवापत प्राप्त हुने सुविधा क्रमशः थपिनेछन् ।

परिचयपत्र प्राप्त गर्नेमा २० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिकहरू हुन् । उनीहरूलाई रु ७५ हजार बराबरको स्वास्थ्य बिमा सुविधासमेत सुरू गरिएको बोर्डले जनाएको छ । परिचयपत्र प्राप्त गर्ने मध्येका एक कलाकार गोपाल ढकाल ‘छन्दे’ ले राज्यले पहिचान दिएको आभाष भएको बताए ।

उनले भने, हामीलाई राज्यले चलचित्रकर्मी भनेर पहिचान स्थापित गरिदिएको छ । जीवन यसमा समर्पण गरेका हामीले राज्यले दिएको पहिचानले उत्साह थपेको छ । यसले कलाकारिता यात्रालाई अगाडि बढाउन प्रेरणा दिन्छ ।

उक्त कार्यक्रममा कलाकार सुशान्तकुमार श्रेष्ठ, प्राविधिक अमित श्रेष्ठ, गीतकार दयाराम पाण्डे, सम्पादक निमेष श्रेष्ठ, निर्देशक वसन्त शर्मा अधिकारी, सम्झना उप्रेती रौनियार लगायत १७८ जनाले २० वर्ष र सोभन्दा बढी चलचित्रकर्म गरेवापत परिचय पत्र प्राप्त गरे ।

प्रतिक्रिया