सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

नेपालखोज २०८२ कार्तिक १ गते १८:२८

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शुक्रबार राति जनकपुरधामको सोनारपट्टिस्थित सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्ने क्रममा भएको विवादसम्बन्धी घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न निर्देशन दिएका छन् ।

उक्त घटनामा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिटको घटनाप्रति चासो व्यक्त गर्दै उनले सुरक्षा निकायलाई सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएका हुन् ।

आज अस्पताल पुगेर घाइते हुनुभएका अध्यक्ष भण्डारीसँग भेटेपछि मुख्यमन्त्री सोनलले प्रदेश प्रहरीप्रमुखलाई सम्पर्क गरी घटनाको विवरण लिनुका साथै सत्यतथ्य छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न निर्देशन दिए ।

शुक्रबार राति सुनचाँदी पसलमा कार्यालयको टोलीले छापा मार्ने क्रममा व्यापारीहरूसँग भएको विवादका क्रममा प्रहरी र सुनचाँदी व्यवसायीबीच झडप हुँदा अध्यक्ष भण्डारी घाइते भएका थिए ।

दीपावलीको समयमा राति अचानक छापा मारेर व्यवसायमा हस्तक्षेप गर्नु अन्यायपूर्ण भएको भन्दै प्रतिकार गर्ने क्रममा विवाद चर्किएको र स्थिति तनावपूर्ण बनेको स्थानीय सुनचाँदी व्यापारी पवन ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया