विपिन जोशी सबैको मनमा रहिरहने छन्: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा दिवङ्गत नेपाली विद्यार्थी विपिन जोशी सबैको मनमा रहिरहने बताएकी छिन् ।
जोशीप्रति आज यहाँ श्रद्धाञ्जलि व्यक्त गर्दै उनले भने, जोशीले आफ्नो देशको नाम त राखे राखे, इजरायली जनता र सरकारबाट पनि सम्मान पाए । त्यसैले उन लाई बहादुर युवा भन्नुपर्छ । यस्तो बहादुर छोरा जन्माउने आमा, उनको खोजीमा अथक सङ्घर्ष गर्ने बहिनीप्रति पनि सम्मान छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री कार्कीले जोशीको शव नेपाल ल्याएसँगै विगत दुई वर्षदेखि जोशीलाई खोजिरहेका तीन करोड नेपालीका आँखा रसाएका बताए । उनले विपिनलाई सकुशल पाउने नेपालीको विश्वास आज निराशामा परिणत भएको उल्लेख गरे ।
हामीलाई विपिन फर्केर आउनेछन् भन्ने नै लागेको थियो । यही विमानस्थलमा भव्य स्वागत गरौँला भन्ने इच्छा थियो, तर त्यो सपनामै रह्यो,प्रधानमन्त्री कार्कीले भने,उनले चाहेको भए आफू बाँच्न सक्थे, तर साथीहरूलाई बचाउन लाग्दा अपहरणमा परे । अपहरणको शिकार हुँदा कति दुःखकष्ट भोगे होलान्, कसरी मारिए होलान्, परिवारमा कति कष्ट भयो होला ! सोच्दा पनि कहाली लाग्छ ।
विपिन जोशी सबैका छोरा भएको र उनको बहादुरी र साहस कहिल्यै बिर्सन नसकिने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले त्यो हिम्मत र साहसप्रति गौरव भएको बताए । विपिन कहिल्यै अस्ताउने छैनन् । हामी सबैको, नेपालको छोरा भएर सधैँ बाँचिरहने छन्, उनले भने ।
स्व जोशीको पार्थिव शरीर आज अपराह्न इजरायलबाट काठमाडौं ल्याइएको हो ।

प्रतिक्रिया