पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालखोज २०८२ कार्तिक ४ गते ९:५४

बाँके । बाँकेमा व्यावसायिक पुष्पखेती घट्दै गएपछि फूलको अभाव भएको छ । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्यवसायी क्रमशः विस्थापित हुँदै गएका हुन् ।

केही वर्ष अघिसम्म दर्जनौँको सङ्ख्यामा व्यावसायिक फूलखेतीमा लागेका यहाँका महिला उद्यमी पछिल्ला वर्षदेखि विस्तारै विस्थापित हुँदै गएको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले जानकारी दिए ।

‘भारतबाट बिनाभन्सार, बिनाक्वारेन्टाइन र बिनाजाँच विभिन्न किसिमका फूलमाला नेपालगञ्जमा आउने गर्दछन्, हामीले वर्षभरि दुःख गर्छौँ, उत्पादन गर्छौँ, हाम्रो मूल्य नै आउँदैन ।’ पुष्प व्यवसायी चर्तीमगरले भने, ‘पारिबाट लुकीचोरी ल्याएका फूलमाला सस्तोमा बिक्री हुने गर्दछ, हामीले मूल्य पनि पाउँदैनौँ, मेहेनत गरेर उत्पादन गरेको फूलले बजार नपाउँदा विस्तारै पुष्प व्यवसायीहरू यो पेसाबाट विस्थापित हुँदै जान थाल्नुभएको छ ।’

सीमापारि भारतबाट आउने अवैध फूलमाला स्थानीय सरकार, प्रहरी प्रशासनले रोक्न नसक्दा बिनाजाँच, बिनाभन्सार र बिनाक्वारेन्टाइन अवैध रूपमा नेपाल आउने प्लास्टिकलगायत फूलमालाका कारण बाँकेका पुष्प व्यवसायी मर्कामा परेकाले पुष्प व्यवसाय यो वर्ष कम भएको उनको भनाइ छ ।

कोहलपुर नगरपालिका–३ बाँकेकी पुष्प व्यवसायी विष्णु चौधरीले लगातारको घाटाका कारण यस वर्ष कम फूल उत्पादन गरेको बताए । यस वर्षको तिहारलक्षित फूलखेती कमै मात्रामा गरेको उनले बताए ।

बाँकेमा पुष्प व्यवसाय घटेपछि यतिबेला नेपालगञ्जमा फूलको अभाव देखिएको छ । प्रतिकेजी पाँच सय देखि आठ सय महँगो दरमा बिक्री गर्ने गरेको नेपालगञ्ज-२१ की उपभोक्ता सृजना थापाले बताए ।

तिहारको समयमा नेपालगञ्जको बागेश्वरी मन्दिरक्षेत्र वरिपरि, धम्बोझी चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, पुष्पलाल चोक, बिपी चोक, भानुभक्त चोक, कारकाँदो चोकलगायत मुख्य चोक र बजार क्षेत्रमा भारतबाट आयातित गरिएका फूल तथा प्लाष्टिकको माला खुलेआम बिक्री हुने गरेको छ । यसका कारण बाँकेका पुष्प व्यवसायी विस्तारै विस्थापित हुँदै गएका हुन् ।

प्रतिक्रिया