युरोपेली संघद्वारा सन् २०२८ सम्म रुसी ग्यास आयात पूर्णरूपमा बन्द गर्ने निर्णय

युरोपेली संघका सदस्य राष्ट्रहरूले रुसी प्राकृतिक ग्यासको आयातलाई चरणबद्ध रूपमा बन्द गर्ने प्रस्तावमा सहमति जनाएका छन् । यो निर्णय सन् २०२२ मा सुरू गरिएको ‘रीपावर युरोप’ रणनीतिको महत्वपूर्ण अङ्ग हो, जसको उद्देश्य रुसमा हुने इन्धन निर्भरतालाई समाप्त गर्दै वैकल्पिक तथा स्वदेशी ऊर्जातर्फ संक्रमण गर्नु हो ।
यस प्रस्तावअनुसार सन् २०२६ जनवरी १ बाट नयाँ रुसी ग्यास आयातमा पूर्ण प्रतिबन्ध लाग्नेछ । यद्यपि, पहिल्यै भएका सम्झौताहरूलाई केही समयका लागि जारी राख्न अनुमति दिइनेछ । छोटो अवधिका सम्झौता सन् २०२६ जुन १७ सम्म र दीर्घकालीन सम्झौता सन् २०२८ जनवरी १ सम्म मान्य रहनेछन् ।
ऊर्जा क्षेत्रको पारदर्शिता बढाउन, ग्यास आयात गर्ने कम्पनीहरूले ग्यासको स्रोत, सम्झौताहरूको अवधि लगायतका विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ ।
यद्यपि, हङ्गेरीका विदेशमन्त्री पिटर सिज्जार्टोले उक्त प्रस्तावको विरोध जनाउँदै यसले युरोपेली मुलुकहरूको ऊर्जा सुरक्षामा गम्भीर संकट निम्त्याउने बताएका छन् । उनले ऊर्जा जस्तो महत्वपूर्ण विषयलाई राजनीतिक एजेन्डामा परिणत गर्नु उचित नहुने स्पष्ट पारेका छन् ।
हाल युरोपेली संघमा रुसबाट करिब १३ प्रतिशत प्राकृतिक ग्यास आयात हुने गरेको छ, जसको वार्षिक मूल्य लगभग १५ अर्ब युरो (अन्दाजी १७.५ अर्ब अमेरिकी डलर) बराबर छ ।
उक्त प्रस्ताव कानुनी रूपमा लागू हुनु अघि युरोपेली संसदमा छलफल र स्वीकृति आवश्यक पर्नेछ। स्वीकृत भएपछिमात्र यो नियम कार्यान्वयनमा आउनेछ र यसले युरोपेली संघको दीर्घकालीन ऊर्जा नीतिमा एक ऐतिहासिक मोड ल्याउनेछ ।








प्रतिक्रिया