राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं । सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता र संवाद अघि बढाएको छ । जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले आगामी फागुन २१ मा घोषित निर्वाचन सम्पन्न गर्न तथा मुलुकमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि पहलकदमी लिएको हो । उक्त प्रयोजनका निम्ति सरकारले मंगलबार सर्वदलीय बैठक आयोजना गरेर सरकार र दलहरुबीचको वर्ता र संवाद अघि बढाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मङ्गलवार सर्वदलीय बैठक बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा करिब पाँच घण्टा चलेको बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सरकार र राजनीतिक दलहरुबीच सकारात्मक छलफल भएको हो ।
सर्वदलीय बैठकमा भएका छलफलबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरुबीचको संवादले निर्वाचनको माहोल बनेको बताए । उनले भने, सरकार र राजनीतिक दलहरुबीच आज भएको छलफलबाट सरकार उत्साहित बनेको छ । यसले निर्वाचनको वातावरण बनेको छ । निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जनेजनीलगायत सबै सरोकारवाला पक्ष उत्तिकै जिम्मेवार भएर प्रस्तुत भएका छन् ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।
सर्वदलीय बैठकमा खासगरी आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने, सुशासन सन्दर्भ र भ्रष्टाचार नियन्त्रणबारे सघन रुपमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए । निर्वाचनको सन्दर्भमा गहन छलफल भएको छ । निर्वाचनको वातावरणका लागि सरकारले गर्ने कामको अवगत गराइएको छ, सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले भने, राजनीतिक दलहरुकोतर्फबाट सूरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो छ, त्यसप्रति सरकार प्रतिवद्धताका साथ लागेको छ ।
निर्वाचनको लागि वातावरण बनाउन सरकारकोतर्फबाट भइरहेका तयारीबारे दलहरुलाई अवगत गराइएको छ । मन्त्री खरेलले भने, निर्वाचनको वातावरण बनाउनका लागि राजनीतिक दलहरुसँग भएको वार्ताबाट सरकार एकदमै उत्साहित बनेको छ र राजनीतिक दलहरुबाट असाध्यै सकारात्मक जवाफ आएको छ । उनीहरुको अलिबढी चासो निर्वाचनमा सूरक्षाको वातावरण बनाउने कुराहरुमा छ, त्यसका निम्ति सरकारले वातावरण बनाउने तथा राजनीतिक दल र जेनजीहरुले पनि सघाएर निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने माहोल बनेको छ ।
उनले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउन सरकारले दलहरुलाई संवाद र विश्वासमा लिएर सबैखाले पहलकदमी लिएको स्पष्ट पारे । उनले भने, सबैभन्दा महत्वपूर्ण कुरा भनेको केहो भने राजनीतिक दलहरु र सरकारबीच सिधा संवाद हुनुपर्ने कुरा जनताबाटै आइरहेको थियो सोही कुरालाई आत्मसाथ गर्दै प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकारकोतर्फबाट राजनीति दलहरुलाई वार्ताका लागि बोलाएको हो । सरकारले जति राजनीतिक दलहरुलाई बोलाएको थियो उनीहरु सबै वार्तामा आएका छन् । छलफलमा सहभागी सबैको सकारात्मक कुरा आएको छ ।
छलफलमा सहभागी राजनीतिक दलका नेताहरुले निर्वाचनमा सहभागी हुने बताएको उनले उल्लेख गरे । सञ्चारमन्त्री खरेलले भने, सबैको सकारात्मक कुरा रहेको छ । साथै निर्वाचनमा भाग लिइरहदा सुरक्षाको वातावरण सरकारले मिलाउनुपर्छ भन्ने उनीहरुको बढी चासो छ । त्यस यसबाहेक सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि छलफल भएको छ । अर्कोतर्फ जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा पनि कुराकानी भएको छ ।

प्रतिक्रिया