‘परान’ सुखी हुन छोडिरहेको खुसीको कथाः निर्देशक आचार्य

काठमाडौं । टेलिशृङ्खलामा अभिनय र साङ्गीतिक श्रव्यदृश्य निर्देशनको अनुभव सङ्गालेका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गरेको चलचित्र ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ । कोरोना भाइरसबाट ग्रसित भएपछि उनलाई चलचित्र बनाउने कथाको ‘आइडिया’ आएको हो ।
कोरोना भाइरसको पहिलो लहरमा बिरामी भएपछि चलचित्र बनाउने कथा लेखेको थिएँ । आफू बाँच्छु कि बाँच्दिन भन्ने अवस्थामा आफ्नो भावना कोरेको थिएँ । यो कथा केही हदसम्म मेरो परिवारसँग जोडिएको छ, तर यसलाई चलचित्रकै शैलीमा पटकथा तयार गरिएको छ, निर्देशक आचार्यले भने ।
कोभिडमुक्त भएपछि निर्देशक आचार्यले यम थापालाई पटकथा लेखनका लागि दिए । त्यसपछि यो चलचित्र बन्ने प्रक्रियाले तीव्रता पायो । एउटा परिवारको कथामार्फत अहिलेको समाजलाई समेत आफूले चित्रण गरेको निर्देशक आचार्यले बताए ।
लचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु । अहिले भविष्य बनाउने गाउँबाट सहर वा विदेश जाने प्रचलन बढिरहेको छ । हामी बा–आमालाई सुखी बनाउन उहाँको खुसी खोसिरहेका छौँ, यस्तै कथा जोडेर चलचित्र तयार गरेको छु, निर्देशक आचार्यले भने ।
चलचित्रमा अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठको अभिनय रहेको छ । एउटा कलाकार र निर्देशकका हिसाबले आफूले सोचेको कलाकारलाई पात्रमा चित्रण गर्न पाउँदा उनी खुसी नै छन् ।
मैले मदनकृष्ण श्रेष्ठ र नीर शाहलाई चलचित्र प्रस्ताव गर्दा नै उनीहरूले अभिनय गर्ने सहमति दिए । सायद, यो कथाले उनीहरुको परिवार र समाजको प्रतिनिधित्व गर्छ होला । यो कथाले अभिभावक होइन, छोराछोरीलाई सोच्न बाध्य बनाउँछ, निर्देशक आचार्यले भने ।








प्रतिक्रिया