मंगलबार, मंसिर २३, २०८२

अक्टोबर २६ : दक्षिण कोरियाको इतिहासमा सबैभन्दा दुखद दिन

सुनिल उलक २०८२ कार्तिक ९ गते १०:१८

काठमाडाैं । आज १०-२६ अर्थात् अक्टोबर २६ तारिख । जसरी अमेरिकी इतिहासमा सेप्टेम्बर ११ लाई अमेरिकामा भएको आतङ्कवादी घटनाका कारण ९-११ का रूपमा चिन्ने गरिन्छ । त्यसरी नै कोरिया प्रायद्वीपमा ६०० वर्ष पछि पहिलो पटक देशको प्रमुख राष्ट्रपति पार्क चुङ हीको हत्या भएका कारण १०-२६ का रूपमा चिनिने गरिन्छ । यो दिनलाई दक्षिण कोरियाको इतिहासमा सबैभन्दा दुखद दिनका रूपमा लिने गरिन्छ ।

जसरी नेपालमा राजा महेन्द्रलाई केही समूहले तानासाहका रूपमा लिने गर्दछन्, त्यस्तै दक्षिण कोरियामा पनि पार्क चुङ ही लाई एक तानासाहका रूपमा लिनेहरू पनि छन् । तर राजा महेन्द्रले देशको विकास र समृद्धिका लागि भन्दा बढी सत्ताका लागि लडिरहने दलहरू माथि प्रतिबन्ध लगाएर एकदलीय पञ्चायती व्यवस्थाका साथ देशमा विभिन्न उद्योगहरू खोल्ने, सडक सञ्जालहरू बढाउने तथा समुन्नत आर्थिक विकासका लागि विभिन्न योजनाहरू ल्याए । त्यसरी नै पार्कले पनि दक्षिण कोरियाको समृद्धिका पूर्वाधारहरू बनाएका थिए ।

नेपालमा पनि यस्ता शासकको आवश्यकता छ, जो राजनैतिक रूपमा दलहरूका लागि तानासाह होस तर देशका विकास र समृद्धि लागि मरिमेट्ने होस । नेपालका राजा महेन्द्र, सिंगापुरका ली क्यान यु, मलेसियाका महा थिर मुहम्मद र चीनका देङ सियाओ पिङले देश समृद्ध गर्न लागेका थिए । राजा महेन्द्रले लामो शासनकाल पाएनन्, त्यसैले देश विकास अधुरो नै रह्यो ।

राजा महेन्द्रले २०१७ पुस १ गते बिपी कोइरालाको जन निर्वाचित सरकारलाई अपदस्त गरी दलहरू माथि प्रतिबन्ध लगाउँदै एकदलीय पञ्चायती व्यवस्थाको सुरुवात गर्दा राजनैतिक दलहरूमा आबद्ध रहेर विभिन्न व्यक्तिगत स्वार्थ पुरा गर्न चाहने समूहले राजा महेन्द्रलाई एक तानासाहका रूपमा प्रचार गर्न थालेका थिए । तर आम जनताका लागि भने नेपालमा स्वर्णिम युगको सुरुवात भएको थियो ।

त्यसपछि देशले समुन्नतिका लागि आवश्यक थुप्रै कलकारखाना तथा उद्योगहरू मात्र पाएन । उत्पादित सामानहरूका बजारीकरणका लागि राजमार्गहरू तथा सडक सञ्जालहरू पनि थपिए । जनताका स्वास्थ्योपचारका लागि अति आवश्यक अस्पतालहरू प्रत्येक जिल्लामा स्थापित भएका थिए ।

नेपालमा पञ्चायती व्यवस्थाको सुरुवात भएको केवल ५ महिना पछि दक्षिण कोरियामा पार्क चुङ ही सत्तामा पुगेका थिए । राजा महेन्द्र भन्दा केवल ३ वर्षले जेठा पार्क बि.सं. २०१८ जेठ ३ गते रक्तपात विहीन सैनिक विद्रोह गरी कोरियाको सत्तामा पुगेका थिए । यसरी सत्तामा पुगेर सैनिक शासन लगाउँदा विश्वमा उनलाई तानासाहका रूपमा चर्चा गर्न थालिएको थियो । तर उनको शासनकालमा दक्षिण कोरिया जुन आर्थिक समृद्ध राष्ट्रका रूपमा पुग्यो, त्यो अतुलनीय थियो । उनकै शासनकालमा सामसङले विश्व बजार ओगटेको थियो । त्यस्तै गोल्ड स्टार कम्पनीले विश्व बजारमा प्रवेश गर्‍यो, जुन पछि लकि कम्पनीसँग मिलेर लकि गोल्ड स्टार छोटकरीमा एलजी बन्यो । अर्को ह्युन्डाइ मोटर्स जसले विश्व बजारमा गाडीको साम्राज्य नै बनाउन सफल भयो । 

यसरी उनको शासनकालमा भएको आर्थिक समृद्धिलाई कोरियामा The Miracle on the Han River भनेर चिनिन्छ ।

हरेक सफल राष्ट्र प्रमुखका पछाडि शत्रुहरू पनि सक्रिय हुन्छ । पार्कका पछाडि पनि शत्रुता लागेको थियो । उनको हत्याका अनेकौँ प्रयास भएका थिए । तर अन्ततः २०३६ साल कार्तिक ९ गते (२६ अक्टोबर १९७९)को राती राष्ट्रिय गुप्तचर परिषद् (Korean Central Intelligence Agency)का प्रमुख किम जे-क्यूले हत्या गरे । एक गोप्य छलफल तथा रात्रि भोजनका का लागि KCIA को मुख्य कार्यालय रहेको भवनमा बोलाइएका राष्ट्रपति पार्क चुङ ही लाई प्रमुख किम जे-क्यूले हत्या गरेका थिए । उनका साथमा उनका तीन अङ्गरक्षक तथा गाडी चालकको पनि हत्या भएको थियो ।

तस्बिर मा हत्या गरिएका राष्ट्रपति पार्क चुङ ही दायाँ र हत्यारा किम जे-ग्यु (चस्मा लगाएका) बायाँ । सत्ताका लागि हत्या गर्ने किम र राष्ट्रपति पार्क दुई अभिन्न मित्र थिए ।

प्रतिक्रिया