जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

काठमाडौं । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विष्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ ।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरेको ‘थामे उपत्यका हिमताल विष्फोटन बाढीको कारण, प्रभाव, र भविष्यका जोखिम’ नामक अध्ययनमा उक्त क्षेत्रमा प्रत्येक दश वर्षमा औसत ०.२८ डिग्री सेल्सियसले तापक्रम बढिरहेको उल्लेख छ । उक्त अध्ययन ईसिमोडका जोखिम विशेषज्ञहरू सुदनविकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरुणभक्त श्रेष्ठले गरेका हुन् ।
अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिमनदीको पग्लिने दर बढ्नेजस्ता समस्या भोगिरहेको देखाएको छ । यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ । द्रुत हिमनदीको प्रभावका कारण अमू दरिया, सिन्धु, गङ्गा, ब्रह्मपुत्र र इरावदी बेसिनका २५ हजारभन्दा बढी हिमताल वृद्धि भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सोलुखुम्बुको थामे क्षेत्रमा गत वर्ष भएको हिमताल विष्फोटनको बाढी सम्बन्धमा गरिएको उक्त अध्ययनले सो पुष्टि गरेको हो । भूगर्भीय र भूआकृतिक कारकहरूको विनाशकारी, जटिल र श्रृङ्खलाबद्ध असरले सो क्षेत्रमा हिमताल विष्फोटन बाढीको शक्तिलाई बढाइदिएको अध्ययनमा उल्लेख छ ।
इसिमोडको अध्ययनका एक लेखक ‘रिमोट सेन्सिङ विश्लेषक’ सुदन विकास महर्जनले हिन्दुकुश हिमालयमा २५ हजारभन्दा बढी हिमताल रहेका र थामे घटनाले तुलनात्मक रूपमा साना तालबाट पनि हुने जोखिम बुझ्न र रोक्नका लागि धेरै प्रयास गर्न आवश्यक छ भन्ने देखाएको उल्लेख गरे । अध्ययनमा जलवायु परिवर्तनका कारण थामेमा बिनाशकारी क्षति पुगेको उल्लेख छ ।
अध्ययनले चार हजार नौ सय मिटर उचाइमा रहेको हिमतालमा ठूलो चट्टान खस्दा बाँध भत्किएर एक लाख ५६ हजार घन मिटर पानी बाहिरिएको देखाएको छ । उक्त पानी १२० मिटर तल रहेको अर्को तालमा खस्दा तालमा २२ मिटर अग्लो र ५१ मिटर चौडा प्वाल परेको थियो । त्यसले थप तीन लाख तीन हजार घनमिटर पानी बाहिरिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
दुवै तालमा भएको पानी एक साथ बग्दा पानीको बहाव अत्यन्तै तीव्रभएको र त्यसले ठूला ढुङ्गासहितका भग्नावशेषलाई ८० किलोमिटर तलसम्म बगाएर लगेको थियो । त्यसपछि उत्पन्न बाढीले आफ्नो बाटोमा पर्ने नदी किनारमा क्षति गरेको थियो ।
नदीको प्राकृतिक रूपमा साँघुरिएको भाग र अस्थायी रूपमा जम्मा भएको बाढीको पानी बगेर जाँदा बाढीले ठूलो रुप लिएको थियो ।
बाढीले निजी घर, एउटा विद्यालय, स्वास्थ्य चौकी, पुल र एउटा जलविद्युत् आयोजनालाई क्षति पुर्याएको थियो । उक्त घटना दिउँसो भएकाले र पानी जम्मा भएको कारण बाढी चरणबद्ध रूपमा आएकाले मानवीय क्षति हुन नपाएको प्रतिवेदनमा उल्लेख छ । उक्त विपद्ले १३५ व्यक्ति विस्थापित र २५ घर नष्ट भएका थिए ।
नेपालमा सन् १९२० को दशकदेखि यता ९० भन्दा बढी हिमताल विष्फोटन भइसकेका छन् । जसमध्ये सगरमाथा क्षेत्रमा मात्रै ५० वर्षभन्दा कम अवधिमा पाँचवटा यस्ता ठूला घटना भइसकेका छन् ।
हिमताल विष्फोटन बाढी उच्च हिमाली क्षेत्रमा सबैभन्दा विनाशकारी र प्रमुख खतरामध्ये पर्दछन् । केही घण्टाभित्रै लाखौं घन मिटर पानी र भग्नावशेष छोड्न सक्ने क्षमता भएका यस्ता घट्नाले तल्लो तटीय क्षेत्रमा विनाशकारी क्षति पुर्याउँछन् ।
इसिमोडका वरिष्ठ सल्लाहकार तथा अध्ययनका सहलेखक अरुणभक्त श्रेष्ठले थामे घटनाले हिन्दुकुश हिमालय क्षेत्रमा विश्वको तुलनामा झन्डै तीन गुणाले तापक्रम वृद्धि भइरहेकाले यस क्षेत्रका हिमनदीमा खतरा बढ्दै गएको बताए ।

प्रतिक्रिया