बुधबार, पुष ९, २०८२

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

नेपालखोज २०८२ कार्तिक १० गते १४:३२

काठमाडाैं । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गरेका छन् ।

मिलेई नेतृत्वको ला लिबर्टाड अवान्जा (एलएलए) पार्टीले प्रतिनिधिसभा र सिनेटका लागि भएको निर्वाचनमा ४०.८४ प्रतिशत मत प्राप्त गर्दै ठूलो जीत हासिल गरेको छ । यसले विगतका अवरोधहरू पार गर्दै पुनरुत्थान गरेको भन्दै लगानीकर्ताहरूले यस परिणामलाई नजिकबाट हेरिरहेका थिए ।

५५ वर्षीय राष्ट्रपति मिलेईले ब्युेस आयर्समा आयोजित विजय समारोहमा समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘आज हामी एउटा निर्णायक विन्दुमा पुगेका छौँ-आजबाट महान् अर्जेन्टिनाको निर्माण सुरु भएको छ ।’ उनले यस निर्वाचनले ‘अर्जेन्टिनाको इतिहासकै सबैभन्दा सुधारवादी संसद्’ ल्याउने विश्वास व्यक्त गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिलेईलाई बधाई दिँदै उहाँलाई ‘अद्भुत काम गरिरहनुभएको छ’ भनेर प्रशंसा गरे ।

आइतबार सम्पन्न मतदानमा प्रतिनिधिसभाका आधा र सिनेटका एक तिहाइ सिटका लागि प्रतिस्पर्धा भएको थियो । मिलेईले आफ्नो दलले प्रतिनिधिसभामा सिट सङ्ख्या ३७ बाट बढाएर १०१ र सिनेटमा छ बाट बढाएर २० पुर्‍याएको बताए ।

दोस्रो विश्वयुद्धपछि देशको राजनीतिमा बारम्बार सत्तामा पुगेको मध्य-वामपन्थी पेरोनिस्ट आन्दोलन यस पटक ३१.६४ प्रतिशत मतसहित दोस्रो स्थानमा रह्यो । विपक्षीहरूलाई मिलेईले भने, ‘धेरै अर्जेन्टिनीहरू पछाडि फर्कन होइन, अगाडि बढ्न चाहन्छन् ।’

दुई वर्षअघि सत्तामा पुगेका मिलेईका लागि यो निर्वाचन उनको आर्थिक सुधार कार्यक्रमप्रतिको जनसमर्थनको पहिलो राष्ट्रिय परीक्षा थियो । उनले लामो समयदेखि सङ्कटमा परेको अर्जेन्टिनाको अर्थतन्त्रलाई ठूलो र पीडादायी सुधारमार्फत पुनर्जीवित गर्ने वाचा गरेका थिए ।

तर मतदाताले मतदान गर्नुअघि देशको मुद्रा पेसोमाथि दबाब बढेको थियो । यो अवस्थालाई सामना गर्न राष्ट्रपति ट्रम्पको सहयोगमा ४० अर्ब डलर बराबरको अमेरिकी वित्तीय सहायता प्याकेज अर्जेन्टिनाले प्राप्त गरेको थियो । वासिङ्टनले सहयोगसँगै चेतावनी दिएको थियो-यदि मिलेईको सुधार कार्यक्रम कमजोर भयो भने सहायता सीमित हुन सक्नेछ ।

प्रतिक्रिया