‘दाता’ को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज

नेपालखोज २०८२ कार्तिक १३ गते ६:२४

दमौली (तनहुँ) । यहाँ छाडा गाई रेखदेखका लागि गौ संरक्षण केन्द्र सञ्चालन गरिएको छ । यो केन्द्र विसं २०७६ देखि यहाँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालनमा छ ।

जथाभावी गाई छाडिदिँदा दुर्घटना बढ्ने र फोहर हुने क्रम बढेपछि व्यास नगरपालिकाले यो केन्द्र स्थापना गरेको हो, तर यसको व्यवस्थापनमा भने विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको सहयोग महत्त्वपूर्ण छ ।

गौ संरक्षण समितिका अध्यक्ष तुल्सीराम सापकोटाले संरक्षण केन्द्रमा हाल एक सय ५० भन्दा बढी गाई रहेका र यसको व्यवस्थापन जन्मदिन, वैवाहिक वर्षगाँठको अवसर पारेर व्यक्ति तथा संस्थाहरूले दिने सहयोगबाट हुँदै आएका बताए । दानी व्यक्ति तथा सङ्घसंस्थाले विविध अवसर पारेर सहयोग गर्दा केन्द्र सञ्चालनमा सहज भइरहेको उनको भनाइ छ ।

नगरपालिकाले तत्कालीन वडाध्यक्षसमेत रहेका सापकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेर केन्द्र स्थापनाको प्रारम्भ गरेको थियो । मादी नदी किनारमा रहेको तीन सय रोपनी सार्वजनिक जग्गालाई तारबार गरेर केन्द्र सञ्चालनमा ल्याइएको छ ।

गाईले दूध दिन छाडेपछि गाईलाई कहाँ लैजाने भनेर समस्यामा मानिस यसबाट लाभान्वित भइरहेका छन् । संरक्षण केन्द्रमा रहेका गाईहरू मरेपछि पनि त्यसको उपयोग गर्नेबारे योजना बनिरहेको संरक्षण समितिले जनाएको छ ।

यही स्थानबाट दमौली बजारमा उत्पादित हुने कुहिने फोहरबाट बायोग्याससमेत उत्पादन गर्ने गरिरहेको छ । गाईको संरक्षणका साथै फोहर व्यवस्थापनरबाट ग्यास उत्पादन गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए ।

संरक्षण केन्द्र व्यवस्थापनका लागि व्यास नगरपालिकाको सहयोगमा तीन र केन्द्रबाट एक गरी चार जना कर्मचारी नियुक्त गरिएको छ । नगरपालिकाले परालका लागि मासिक रु पाँच लाख सहयोग गरिरहेको जनाइएको छ । रासस

प्रतिक्रिया