निर्वाचनमैत्री समाचार सामग्रीलाई प्राथमिकता दिन सरकारी सञ्चारमाध्यमलाई सञ्चारमन्त्री खरेलको आग्रह

नेपालखोज २०८२ कार्तिक १८ गते २०:१२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने गरी क्रियाशील रहेकाले यस कार्यमा सहयोग पुग्ने समाचार सामग्रीलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमका सम्पादकीय नेतृत्वसँग छलफल गर्दै उनले यस कार्यमा सरकारी सञ्चारमाध्यम थप जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिए ।

मन्त्री खरेलले सरकारको प्राथमिकतामा रहेको निर्वाचन, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा ‘जेनजी’ पुस्ताको भावनाअनुरूपका ‘कन्टेन्ट’ सम्प्रेषण गर्न आग्रह गरे ।

निर्वाचनको माहोल बनाउन सरकारले राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिसँग निरन्तर संवाद र अन्तरक्रिया गरिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा यही कात्तिक १२ गते सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच संयुक्त छलफल भएको थियो ।

त्यसअघि गत कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलपल भएको थियो । यी छलफलले निर्वाचनका लागि सकारात्मक वातावरण सिर्जना गरेको मन्त्री खेरेलको भनाइ छ । निर्वाचन, सुशासन र जेनजीको भावनाअनुरुप काम गर्न सरकारले सरोकार भएकाहरूसँग निरन्तर विभिन्न चरणमा छलफल र पैरवी गरिरहेको उनले बताए ।

सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले निर्वाचन केन्द्रित भएर विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिसँगको छलफललाई समेत प्राथमिकतामा राखेको बताए ।

मन्त्री खरेलले निर्वाचन भएन भने मुलुक सङ्कटतर्फ जानसक्ने खतरा रहने भन्दै सरकार निर्वाचनलाई विशेष प्राथमिकता दिएर आवश्यक तयारीमा जुटिसकेको दोहोर्याए ।

सञ्चारमन्त्री खरेलले नागरिक सरकार भएकाले हिजोको जस्तो राजनीतिक दबाब सरकारी सञ्चारमाध्यममा नभएकाले निर्धक्क साथ आमनागरिकको सर्वोपरी हितमा निष्पक्ष, सन्तुलित र विश्वसनीय समाचार सामग्री सम्प्रेषण गर्न आग्रह गरे । उनले परिवर्तित सन्दर्भमा सरकारी सञ्चारमाध्यमले खेलेको भूमिकाको सराहना गर्दै ‘जेनजी भ्वाइस’ शीर्षकमा जेनजी सहिद, घाइते र पीडित परिवारको पीडा, वेदना र समस्यालाई उजागर हुनेगरी समाचार, श्रव्यदृश्यलगायत सामग्री दिन आग्रह गराए ।

प्रतिक्रिया