पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छः नेता कोइराला

नेपालखोज २०८२ कार्तिक २१ गते १६:१७

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्ममा गरिसक्नुपर्ने बताएका छन् ।

काठमाडौंमा उपलब्ध जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँगको छलफलमा उनले समयको माग, वर्तमान अवस्थालगायत कारणले आगामी मङ्सिरमा महाधिवेशन गर्न सकिएन भने कुनै पनि हालतमा पुस मसान्तसम्म गरिसक्नपर्ने धारणा राखे ।

नेता कोइरालाले भने, आउँदो आमनिर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वसहित चुनावमा जानुपर्छ । महाधिवेशन मङ्सिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषय धेरै पहिलेदेखि भन्दै आएको छु । महाधिवेशनको तालिका बनाउँदा निर्वाचन आयोगले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्ने आवश्यतामा जोड दिँदै उनले कांग्रेस अहिले एकताबद्ध, गम्भीर, जिम्मेवार र संयम भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ । विगतमा पार्टीले थुप्रै आरोहअवरोह व्यहोरेकाले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ । आफूले पार्टीमा एकता, मेलमिलाप चाहेको बताउँदै उनले गुट, उपगुट र फुटको अन्त्य गर्न कोही कसैप्रति आग्रह–पूर्वाग्रह नराखी अघि बढ्नुपर्ने आवश्यकता औँल्याएको नेता कोइरालाको सचिवालयले जनाएको छ ।

नेता कोइरालाले भने, देशभरका इमानदार, निष्ठावान् र निरन्तर क्रियाशील रहेका साथीहरूले पार्टीलाई बचाइरहेका छन् । पार्टीका लाखौँ शुभेच्छुकहरू र बाह्य सबै पक्षले अहिले कांग्रेसको निर्णय हेरिरहेका छन्, पर्खिरहेका छन् ।

प्रतिक्रिया