सोमबार, मंसिर २२, २०८२

छन्द साधना पुरस्कारबाट कवि लम्साल र आचार्य पुरस्कृत

नेपालखोज २०८२ कार्तिक २२ गते १८:२२

काठमाडौं । छन्द तरङ्ग अभियानको सातौँ वार्षिकोत्वसका अवसरमा वरिष्ठ कवि डा नवराज लम्साल र युवाकवि पुरुषोत्तम आचार्यलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।

अभियानद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ भाषाविद् एवं साहित्यकार मुकुन्दशरण उपाध्यायबाट कवि डा लम्साललाई रु ४० हजार राशिको विशिष्ट छन्द साधना पुरस्कार र कवि आचार्यलाई रु २० हजार राशिको छन्द साधना युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।

रेडियोकर्मीसमेत रहेका धादिङका डा लम्सालले ‘कर्ण’, ‘धरा’, ‘अग्नि’ र ‘कल्प’ जस्ता महाकाव्यका साथै सयौँ गीत रचना गरेका छन् भने मकवानपुरका आचार्यले सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर छन्द कविता लेखन गर्दै आएका छन् ।

यसअघि विशिष्ट छन्द साधना पुरस्कारबाट रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, घनश्याम कँडेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल र गोविन्दराज विनोदी पुरस्कृतत भइसकेका छन् भने छन्द साधना युवा प्रतिभा पुरस्कारबाट सुदेश सत्याल, कविराज पौडेल र रुपक अलङ्कार पुरस्कृत भइसकेका छन् ।

छन्द कविताको स्तरीकरण र मानकीकरणका लागि साहित्यकारद्वय प्रा डा रामप्रसाद ज्ञवाली र प्रा डा देवी नेपालको अगुवाइमा २०७५ सालदेखि सो अभियान आरम्भ भएको हो । -रासस

प्रतिक्रिया