पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा कांग्रेस गोरखाको जोड

नेपालखोज २०८२ कार्तिक २२ गते १९:२९

गोरखा । नेपाली कांग्रेस जिल्ला समिति, गोरखाले आगामी पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । जिल्ला समितिले महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभएको कार्यतालिकाअनुसार पार्टीको केन्द्रीय महाधिवेशन गर्नुपर्नेमा जोड दिएको हो । आज यहाँ सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति नन्दप्रसाद न्यौपानले विधानअनुसार महाधिवेशन हुन नसके ५४ प्रतिशत प्रतिनिधिले माग गरेबमोजिम विशेष महाधिवेशन हुनुपर्ने निर्णय जिल्ला समितिले गरेको जानकारी दिए ।

‘महामन्त्रीले माग गरेबमोजिम महाधिवेशन हुँदैन भने ५४ प्रतिशत प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन हुनुपर्छ भन्ने निर्णय जिल्ला समितिले गरेको छ’, उनले भने, ‘हामीले सोही अनुसार केन्द्रीय समितिलाई अनुरोध गर्नेछौँ ।’ कांग्रेसको विधानले जिल्ला समितिसहित सबै तहको कार्यकाल चार वर्षका लागि तोेकेकाले आगामी मङ्सिरमा सबै तहको कार्यकाल सकिने भएकाले पुसमा नियमित अधिवेशन हुनुपर्ने निर्णय बैठकले गरेको उनले बताए ।

उनका अनुसार कांग्रेस गोरखाका ५१ महाधिवेशन प्रतिनिधिमध्ये ४२ जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसमेत गरेका छन् । बैठकले विषम परिस्थितिमा देशले निकास खोजिरहेका बेला जिल्लाभित्रका ११ वटै पालिकामा पार्टीले भेला गरेर नागरिकहरूसँग छलफल र आवश्यक संवाद गर्ने निर्णयसमेत गरेको सभापति न्यौपानेले बताए ।

वर्तमान अवस्थामा देशलाई निकास दिनका लागि पनि तत्काल पार्टीको महाधिवशेन जरुरी रहेको उहाँको भनाइ छ । किसानले भित्र्याउने तयारी गरेका धानबालीमा वर्षाले ठूलो क्षति पु¥याएकाले स्थानीय प्रदेश र सङ्घीय सरकारलगायत सरोकार भएका निकायसँग पीडित किसानलाई विशेष राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराउने आजको बैठकले निर्णय गरेको सभापति न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पार्टीको भ्रातृ सङ्गठनलाई थप चलायमान बनाउन तथा विकास निर्माणका योजनालाई समयमा सम्पन्न गर्नेगरी दबाब दिने निर्णय बैठकले गरेको छ । जिल्ला सभापति न्यौपानले वर्तमान सरकार संविधानअनुसार बन्यो वा बनेनभन्दा पनि यो जेनजीको माग र आन्दोलनको मर्मबाट बनेको सरकार भएकाले स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया