शरदले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

नेपाली क्रिकेटका हस्ती शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि भेषावकरले संन्यास लिएका हुन् ।
भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो । आइतबार भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समाप्त गरेको छ ।
सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपबाट शरदले आफ्नो खेल जीवनको शुरूआत गरेका थिए । नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीनदिवसीय खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय टोलीका उनी सदस्य थिए ।
नेपाली राष्ट्रिय टोलीबाट उनले ‘डेब्यु’ भने २००४ मा यूएईमा गरेका थिए । प्रथम श्रेणीको मान्यता प्राप्त अन्तरमहादेशीय कप तीनदेशीय प्रतियोगिताको यूएईसँग शारजहाँमा दोस्रो इनिङ्समा अविजित अर्धशतक बनाउँदै शरदले सानदार ‘डेब्यु’ गरेका थिए ।
यूएईमै २०१३ मा भएको आईसीसी ट्वान्टी-२० विश्वकप ग्लोबल छनोट थियो, जहाँ उनले उत्कृष्ट फिनिसरको भूमिका निभाउँदै नेपाललाई पहिलो पटक ट्वान्टी-२० विश्वकपमा डोर्याएएका थिए । शरदले २०२१ मा पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय र २०२२ मा पछिल्लो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलेका थिए ।








प्रतिक्रिया