समाजसेवी चुकेद्वारा एक करोड बराबरको जग्गा लायन्स क्लवलाई दान

नेपालखोज २०८२ कार्तिक २४ गते १०:५७

चितवन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरले समाजसेवी बालगोपाल चुकेले दान दिएको जग्गामा नयाँ भवन बनाउने भएको छ । भरतपुर महानगरपालिका–३ नारायणगढमा उनले दिएको १० धुर र क्लबले थप १० धुर खरिद गरेर दुई करोडको लागतमा भवन निर्माण सुरु गरिएको हो ।

भवन निर्माण समितिका संयोजक तथा पूर्व डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेका अनुसार रु एक करोड बराबरको जग्गा बालगोपालले निःशुल्क उपलब्ध गराएपछि सोही ठाउँमा क्लबले थप १० धुर एक करोडमा खरिद गरी भवन निर्माणका लागि शिलन्यास गरिएको छ । भवनको लायन्स अन्तरराष्ट्रियका पूर्व निर्देशक बालकृष्ण बुर्लाकोटी र लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनका एरिया लिडर राजन लम्सालले हालै शिलन्यास गरेका हुन् ।

नेपालमा १५ लायन्सका डिष्ट्रिक क्रियाशील छन् । ती डिष्ट्रिकमध्ये आफ्नै प्रशासकीय भवनको सिलान्यास गर्ने डिष्ट्रिक ३२५ आर पहिलो हो । हाल यस डिष्ट्रिकमा १८७ लायन्स क्लबमा ४,४१० लायन सदस्य आवद्ध रहेको उनले जानकारी दिए ।

संयोजक चुकेले प्रशासकीय भवन रु दुई करोडको लागतमा १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । सो कार्यका लागि हालसम्म करिब ४५ लाख सङ्कलन भइसकेको र बाँकी रकम पनि चाँडै सङ्कलन हुने विश्वास उनले व्यक्त गरे । प्रति लायन सदस्य रु ३,००० का दरले सहयोग सङ्कलन गरेर भवन निर्माण गर्न लागिएको उनले बताए ।

इञ्जीनीयर उमेश ढकालका अनुसार भवनको पहिलो तला कार्यालय प्रयोजनको रुपमा रहनेछ भने दोस्रो तलामा दुईवटा हल रहने गरी नक्शा तयार गरिएको छ । शिलन्यास समारोहमा उपस्थित रहेका बुर्लाकोटी र लम्सालले भवन निर्माणका लागि रु ५५ हजार ५५५ प्रदान गरे ।

प्रतिक्रिया