अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नेतान्याहूलाई माफी दिन राष्ट्रपति हर्जोगसँग आग्रह

जेरूसेलम । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट एक पत्र प्राप्त भएको बताउनुभएको छ। पत्रमा भ्रष्टाचारका तीन अलगअलग मुद्दामा मुद्दाको सामना गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई माफी दिन आग्रह गरिएको छ ।
प्रधानमन्त्री नेतन्याहूले चलिरहेका अदालती मुद्दाहरूमा कुनै पनि गलत काम नगरेको बारम्बार बताइरहनुभएको छ। अहिलेसम्म कुनै निर्णय भइसकेको छैन र नेतन्याहूका समर्थकहरूले मुद्दालाई राजनीतिक रूपमा प्रेरित भन्दै आएका छन् । गत अक्टोबरमा इजरायली संसदमा सम्बोधन गर्दा पनि ट्रम्पले हर्जोगलाई नेतान्याहूलाई माफी दिन सुझाव दिएका थिए ।
‘राष्ट्रपति हर्जोगले अमेरिकी राष्ट्रपति ट्रम्पबाट पत्र प्राप्त गर्नुभएको छ, जसमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई माफी दिन विचार गर्न आग्रह गरिएको छ,’ हर्जोगको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पत्रमा ट्रम्पले हर्जोगलाई ‘हामीले मिलेर कम्तीमा तीन हजार वर्षदेखि खोज्दै आएको शान्ति सुरक्षित गरेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘म तपाईंहरूलाई प्रधानमन्त्री नेतान्याहूलाई पूर्ण रूपमा माफी दिन आह्वान गर्दछु, जो युद्धको समयमा एक शक्तिशाली र निर्णायक प्रधानमन्त्रीको रूपमा उभिनुभएको छ।” “म इजरायली न्याय प्रणालीको स्वतन्त्रताको पूर्ण सम्मान गर्दछु । मलाई विश्वास छ बीबी (नेतन्याहु)को बिरूद्ध यो ‘मुद्दा’ अनुचित राजनीतिक, अभियोजन हो,’ पत्रमा भनिएको छ ।
नेतान्याहू र उनकी पत्नी सारामाथि राजनीतिक पक्षको बदलामा अर्बपतिहरूबाट सिगार, गहना र स्याम्पेन जस्ता दुई लाख ६० हजार डलरभन्दा बढी मूल्यका विलासिताका सामानहरू स्वीकार गरेको आरोप लगाइएको छ । उनीमाथि दुई अन्य मुद्दाहरूमा दुई इजरायली सञ्चारमाध्यमबाट अधिक अनुकूल कभरेजको लागि कुराकानी गर्ने प्रयास गरेको आरोप पनि लगाइएको छ । हर्जोगको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘इजरायली राष्ट्रपतिले ट्रम्पलाई उच्च सम्मान गर्नुहुन्छ र राष्ट्रपति ट्रम्पको इजरायलप्रति अटुट समर्थनका लागि गहिरो प्रशंसा व्यक्त गरिएको छ ।’ ‘सँगसँगै मुद्दाको सामना नगर्न माफी माग्ने जो कोहीले पनि स्थापित प्रक्रिया अनुसार राष्ट्रपति समक्ष औपचारिक अनुरोध पेश गर्नुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।
सन् २०२२ को अन्त्यमा सुरु भएको आफ्नो वर्तमान कार्यकालमा नेतन्याहूले दूरगामी न्यायिक सुधारको प्रस्ताव गर्नुभएको छ भने आलोचकहरूले अदालतलाई कमजोर बनाउन खोजेको बताएका छन् । यसले ठूलो विरोध प्रदर्शनलाई प्रेरित गरेको थियो र यो सन् २०२३ अक्टोबरमा गाजा युद्धको सुरुवातपछि मात्र रोकिएको थियो । ट्रम्प आफैँले लामो समयदेखि आफ्ना राजनीतिक विरोधीहरूले आफ्नो पदबाट बाहिर रहँदा न्याय विभागलाई निशाना बनाउन प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । -रासस/एएफपी








प्रतिक्रिया