कागतीका बोट मर्न थालेपछि किसान चिन्तित

नेपालखोज २०८२ कार्तिक २७ गते ८:५६

ढोरपाटन । जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। सयौँ किसानका हजारौँ कागतीका बोट सुकेर मर्न थालेको हो । निसीखोला गाउँपालिका- ४ का किसान चक्रबहादुर रोकाले बारीमा लगाएका अधिकांश बोट मर्न थालेको बताए ।

टिप्ने बेलाको कागतीका दाना खस्नाका साथै बोट नै मरेको उनको भनाइ छ । अघिल्लो वर्ष लगाएका बिरुवासमेत मर्न थालेको उनले बताए । गाउँको पाखो जमिनमा व्यावसायिक रुपमा कागतीखेती शुरु गरेका मगरलाई बोट मर्दा लाखौँको क्षति हुने चिन्ता छ ।

स्थानीय तमबहादुर खत्रीले १२० बोटमध्ये ९० भन्दा बढी बोटमा रोग देखिएकोजानकारी दिए। गाउँका सबै किसानको कागती बगानमा यो रोग देखिएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले किसानको गुनासो आएपछि बारीमै पुगेर अध्ययन गर्दा जरा सुक्ने रोगले कागती मरिरहेको बताए ।

अहिले बोटमा लटरम्म फल रहेको हुँदा उपचार गर्न नसकिने भन्दै फल टिपेर सकेपछि जरा खनेर उपचार गरिने उनले बताए । फल नदिएका बोटको भने उपचार हुने अधिकारीले बताए ।

‘कागतीका बोट सुक्न थालेपछि धेरै ठाउँका किसानले हामीलाई फोन गरेर गुनासो गरे, उहाँहरुको गुनासो आएपछि बारीमै पुगेर अध्ययन गर्दा जरा सुक्ने रोगले यो समस्या आएको पत्ता लगायौँ’, उनले भने, ‘यसका उपचारका विधि छन्, फल भएको बोटमा अहिले उपचार गर्न मिल्दैन, फल टिपेर सकेपछि जराको माटो खनेर उपचार गर्नुपर्छ, यो रोगले धेरै क्षति पुर् याएको छ।’

जिल्लामा हाल ७९७ हेक्टर क्षेत्रफलमा कागतीजन्य फलफूलखेती हुँदै आएको छ । पछिल्लो समय कागतीखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया