मधेसमा धान उत्पादनमा कमी आउने

वीरगञ्ज (पर्सा) । धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र बाली भित्र्याउने समयमा परेको वर्षातको कारणले यस वर्ष मधेस प्रदेशमा धान उत्पादनमा करिब २० प्रतिशत कमी आउने अनुमान गरिएको छ ।
कृषि अनुसन्धान निर्देशनालय मधेस प्रदेशले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय कृषि प्राविधिक समूह कार्यशाला गोष्ठीमा बोल्दै कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवले यो वर्ष धान बाली लगाउने र भित्र्याउने समयमा प्रतिकूल मौसमको कारणले मधेस प्रदेशमा धान उत्पादन घट्ने अनुमान गरेको बताए ।
उनले धानबाली भित्र्याउने समयमा परेको वर्षातको कारणले धानबालीमा ठूलो असर पारेको उल्लेख गरे । निर्देशनालयका अनुसार मधेस प्रदेशमा करिब १३ लाख मेट्रिकटन धान उत्पादन हुन्छ । जसमध्ये यस वर्ष भने करिब १० लाख मेट्रिकटनको हाराहारीमा धान उत्पादन हुने अनुमान गरिएको छ । निर्देशनालयका अनुसार मधेस प्रदेशमा आठ जिल्लामा धान रोपाइँ हुने तीन लाख ७२ हजार ६४५ हेक्टर छ ।
जसमध्ये ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको थियो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दाहालले मधेस प्रदेश सरकारले कृषि क्षेत्रमा यान्त्रिक प्रविधि गरेर उत्पादकत्व बढाउनेतर्फ अग्रसर रहँदै आइरहेको बताए । -रासस

प्रतिक्रिया