तीन अर्ब बराबरका दुईवटा बचतपत्रको बिक्री खुला

नेपालखोज २०८२ कार्तिक २९ गते १४:४६

काठमाडौं । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुईवटा बचतपत्रको बिक्री खुला गरेको छ । कार्यालयले रु दुई अर्ब ५० करोड बराबरको ‘नागरिक बचतपत्र–२०८७’ र रु ५० करोड बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गर्न लागेको हो ।

पाँच वर्ष अवधिका यी दुवै बचतपत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मङ्सिर २८ गते निष्कासन हुनेछ । नागरिक बचतपत्रमा छ दशमलव पाँच प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा सात दशमलव पाँच प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ ।

बचतपत्रको ब्याज हरेक छ/छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तानी हुनेछ भने घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । नागरिक बचतपत्र नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

त्यस्तै, वैदेशिक रोजगार बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना पुगेका नेपाली नागरिक, गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममासमेत गरिन गर्न सक्नेछन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत बचतपत्र खरिदका लागि आवेदन दिन सकिनेछ ।

अघिल्ला वर्षमा नागरिक बचतपत्र शतप्रतिशत बिक्री हुँदा वैदेशिक रोजगार बचतपत्रमा भने लगानीकर्ताको न्यून चासो देखिने गरेको छ । लगानीकर्तालाई बचतपत्रबारे पर्याप्त जानकारी नहुँदा विगतका वर्षमा निष्कासन गरिएको रकमभन्दा कम मात्रै खरिद हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताए ।

नागरिक बचतपत्रका लागि पछिल्लो चार दिनमा मात्र रु ८० करोड बराबरको आवेदन परिसकेको पुडासैनीले जानकारी दिनुभयो । यसवर्ष तोकिएको समय अघि नै खरिद भइसक्ने अनुमान गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउने यी बचतपत्र ‘स्टक’का रूपमा जारी हुनेछन् ।

यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक रहेका जनाउँदै पुडासैनीले यसको महत्व र फाइदाबारे अधिकांश नागरिकलाई जानकारी नभएको बताए । उपसचिव पुडासैनीका अनुसार बचतपत्र पूर्ण रूपमा सुरक्षित लगानी हो । यसमा सरकारले मूलधनको सुशिन्चित गरेको हुन्छ ।

साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा सिधैँ जम्मा हुन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने पुडासैनीले उल्लेख गरे ।

प्रतिक्रिया