पकेट क्षेत्रमा सुन्तलाका बोट धमाधम सुक्दै, किसान वैकल्पिक खेतीतर्फ

नेपालखोज २०८२ कार्तिक ३० गते ९:३८

काठमाडौँ । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा पछिल्ला केही वर्षयता सुन्तलाका बोट धमाधम सुक्न थालेका छन्। जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र ‘सिट्रस ग्रिनिङ’ रोगको प्रकोपपछि सुन्तलाका बोट मर्न थालेका हुन्।

धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका यहाँका किसान अहिले विस्थापित भई वैकल्पिक खेती गर्न थालेका छन्। उनीहरूले सुन्तलाको विकल्पमा केरा, कफी, अम्बा, अदुवा, बेसार र कोदोखेती गर्न थालेका छन्।

कुनै बेला जिल्लामै सबैभन्दा बढी पाँच सय बोट सुन्तला लगाएर मनग्गे कमाइ गर्ने स्थानीय ७३ वर्षीय टीकाराम जैसी अहिले सुन्तलाखेतीबाट विस्थापित भई मौरीपालन र अदुवा, बेसारखेती गरेका छन्। उनको सुन्तला बगान अहिले सुकेका बोट र झाडीले भरिएको छ। काठमाडौँसम्म परीक्षण गर्दा ुसिट्रस ग्रिनिङु रोगको प्रकोप थाहा भएपछि उनले सुन्तलाखेती नै छाडेका हुन्।

सात रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएकी सोही ठाउँकी डिलकुमारी तिमिल्सिनाले पनि सुन्तलाका बोट मासेर केरा, कोदो र अदुवाखेती गरेको बताइन्। लामो समयदेखि व्यावसायिक खेती गर्दै आएका किसान विस्थापित बन्दै गइरहेको स्थानीय दाताराम चापागाईँले जानकारी दिए। विगत केही वर्षअघिसम्म वार्षिक रु पाँच करोडभन्दा बढीको सुन्तला बिक्री हुने यो गाउँमा अहिले मुस्किलले रु दुई करोडसम्म मात्र भित्रिने चापागाईँको अनुमान छ।

मोदी गाउँपालिकाको कृषि शाखा प्रमुख स्मृति तिमिल्सिनाले देउपुरको सुन्तला बगैँचामा अब अम्लीय जातका फलफूलको उत्पादन हुन नसक्ने बताइन्। क्यान्डीडट्स लिबेरीब्याक्टर एसिअटिकसु नामक ब्याक्टेरियाुले बगैँचा सखाप पारेकाले उक्त बगैँचामा वैकल्पिक खेती गर्नुको विकल्प नरहेको उनले बताइन्।

तिमिल्सिनाले सङ्क्रमित रुख तुरुन्त उखेलेर नष्ट गर्ने र त्यहाँको हावापानीअनुसारको केरा, कफी, कोदो, अदुवा, अम्बा, बेसारजस्ता खेती गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएकी छन्। यहाँका झण्डै एक सय ५० परिवार व्यावसायिक सुन्तलाखेती गर्दै आएका थिए, तर समस्या आएपछि किसानको आकर्षण घट्दै गएको स्थानीय भूमिराज शर्माले बताए।

प्रतिक्रिया