दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

नेपालखोज २०८२ कार्तिक ३० गते १२:०६

काठमाडौं । कला सिर्जनाका माध्यममध्ये महत्वपूर्ण र सुरुआती माध्यम जलरङ हो । पारदर्शी यो रङ खेलाउन जति सजिलो छ उति नै कठिन पनि हुन्छ । सुरुआती चरणमा कलाकारले जलरङ खेलाउँछन् ।

पछि छाड्दै गएका कैयौँ उदाहरण छन् । तर नेपाली धेरै कलाकारले आफ्नो अन्य माध्यमसँगै जलरङलाई पनि सँगसँगै लगिरहेका छन् । नेपालमा कलाकार एनबी गुरुङको संयोजकत्वमा अन्तरराष्ट्रिय जलरङ समाज नेपाल नै गठन गरेर जलरङको प्रवर्द्धन भइरहेको छ ।

त्यही जलरङलाई नौलो रुपमा प्रस्तुत गरी कला सिर्जना गर्न सकिन्छ भन्ने सन्देशसहित दरबारमार्गमा कलाकारले जलरङकको प्रयोग गरी फरक शैलीमा सिर्जना गरेका चित्र देख्न पाइन्छ । दरबारमार्गस्थित १०८ ग्यालरीमा जलरङ माध्यममा बनाइएका तीन कलाकारका कला प्रदर्शनी भइरहेको छ ।

वरिष्ठ कलाकार हरेराम जोजु, कलाकार दिराम पाल्पाली र समाजका अध्यक्षसमेत रहनुभएका कलाकार गुरुङ लामो समयदेखि कला सिर्जनामा पोख्त छन् । उनीहरुका कलाले अहिले दरबारमार्गको १०८ ग्यालरी कलामय बनेको छ । यहाँ प्रदर्शित कलामा उहाँहरुको विषय र टेक्निक फरकफरक पाइन्छ । कलाकार गुरुङका अमूर्त तथा मुहार चित्रका कला हेर्न पाइन्छ ।

जोजुले केही सम्पदा समेट्नुभएको छ । प्रयोगवादी धारा अपनाउने जोजुका यहाँ केही प्रयोगात्मक कला देख्न पाइन्छ । उहाँ प्रायः नौलो प्रस्तुति दिन रुचाउने कलाकार छन् । यसपाली उनले सिटीका दृष्यचित्र र सम्पदालाई समेट्नु भएको, तर नौलो प्रस्तुतिका साथ । नेपाली कागजमा विरलै प्रयोग हुन्छ जलरङ । त्यसैलाई सम्भव गरेर देखाएका छन् कलाकार जोजुले ।

पोखराका सशक्त कलाकार जोजु ‘न्युरो आर्ट’ अवधारणालाई नेपालमा सशक्त बनाउँदै आएका छन् । उक्त धारका कलालाई उनले नेतृत्व नै गरिरहेका छन् । यो धारको कलाले मानव मस्तिष्क, न्युरोसाइन्स, मनोविज्ञान, र चेतन मनलाई कलात्मक रूपमा प्रस्तुत गर्छ । उनको अर्काे पहिचान हो ‘अल्कोहल इङ्क आर्ट’ । यो पनि उहाँले नै नेतृत्व गरिरहनुभएको छ भन्दा फरक पर्दैन । उनका यी कलाले मनोपरामर्शको काम गर्छ ।

कला थेरापीकै रुपमा उहाँले काम गर्दै पनि आएका छन्। यी दुई कलाशैलीमा विज्ञानको संयोजन रहेको पाइन्छ । फरक र नयाँ प्रयोग गर्न रुचाउने जोजुले हाल दरबारमार्गमा जारी महिनाव्यापी कला प्रदर्शनीमा पनि जलरङको नयाँ प्रयोग गरेका छन् । क्यान्भास वा आर्ट पेटरलाई छाडेर नेपाली कागजमा त्यसमाथि जलरङ पोतेर चित्र कोर्नु उहाँको नौलो प्रयोग हो ।

उनका कुनै कला एक्रेलिक कुनै अइल कलरका झैँ लाग्छन् । एक जना कार्टुनिष्ट अनुप तमु गुरुङ झट्ट हेर्दा उनका यहाँ प्रस्तुत कला एक्रेलिक माध्यम हो की झैँ देखिने बताउछन् । उनले कलाकार जोजुले सुन्दर ढङ्गले कलामा नौलो प्रयोग गरेकामा बताए ।

जलरङमा पूर्ण अमूर्त कला खासै देखिँदैन । अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष गुरुङले त्यही जलरङका अमूर्त कला देखाएका छन् । उनले रङलाई फटाएर गरिने विधि ‘ग्रानुलेसन’को प्रयोग गरेका छन् । यो विधिमा रङलाई पानीले धकेलेर आकारमा ढाल्ने गरिन्छ । गुरुङका मुहार चित्र, अमूर्त र रियलिष्टिक कला यहाँ देख्न सकिन्छ ।

नेपालमा नयाँ प्रयोगका रुपमा उनले वाटरकलर बगाएर नियन्त्रित कला सिर्जना गर्नु आफैँमा चुनौतीपूर्ण अभ्यास हो । कलाकार गुरुङ भन्छन्, ‘वाटरकलरको गुण भनेको एकले अर्काेलाई धकेल्दै अघि बढ्ने हो, जति रोकावट हुन्छ, पछाडिको दबाबले धकेलिदिन्छ, यदि बाँध फुट्यो भने ठूलो शक्ति बोकेर निस्किन्छ नी, हो त्यसैगरी यो कलामा पनि पानीको दबाबमा रङ फाटेर आइदिन्छ, यहाँ मैले नियन्त्रित रङ बगाएर चित्र सिर्जना गरेको छु ।’

चित्र अवलोकन गर्दा यी सिर्जना पूर्ण अमूर्त र साइकोलोजिकल देखिन्छ । तर कला पारखीले आआफ्नै तरिकाले बुझ्न सक्छन् । यहाँ फरकफरक व्याख्या गर्नसक्ने खालका सिर्जना छन् । ‘मिष्टी हिल’ शीर्षक दिइएको उक्त नौलो जलरङ माध्यमका उनका कलामा पहाडमा हुस्सु र कुहिलो मडारिइरहेको झैँ लाग्छ । कुहिरो मडारिँदा पहाडलाई ढाक्ने र कतैकतै खुला रहने अवस्थाले प्रकृतिको सुन्दरतामा नयाँ आयाम थपिदिन्छ । उहाँका उक्त चित्रले त्यही पहाड र बादलुको घुम्टोलाई समेटेको अनूभूति मिल्छ ।

अर्का कलाकार पाल्पालीले जलरङकै माध्यममार्फत काठमाडौँका सम्पदालाई उठाएका छन् । उनले दृष्यचित्रसहितका सम्पदालाई र सांस्कृतिक विषयलाई १० वटा चित्रमार्फत प्रस्तुत गरेका छन् । उनका सिर्जनामा उपत्यकाका सम्पदा देख्न पाइन्छ । ‘द भिजन वान इसेन्स’ शीर्षकमा जारी कला प्रदर्शनी एक महिनासम्म चल्नेछ ।

प्रतिक्रिया