नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँपुस्ताको भावना अनुरूप काम गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।
आज गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थिति जनादै मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
‘अहिलेको सरकार निर्वाचनको सरकार हो । त्यसैले पुरानै संरचना वा ऐन-नियममा सीमित भएर मात्र होइन, प्रविधिको अधिकतम उपयोग गर्दै निर्वाचन प्रक्रियालाई सहभागीमूलक बनाउन तथा नागरिकको मताधिकार सुनिश्चित गर्न सबैले जिम्मेवारी वहन गर्नुपर्छ,’ मन्त्री अर्यालले भने ।
उनले विभागीय प्रमुखहरुलाई मातहतका कार्यालयको जिम्मेवारी प्रभावकारी ढङ्गले सम्पादन गर्न निर्देशन दिदैँ सेवा प्रवाहमार्फत परिवर्तनको अनुभूती दिलाउन निर्देशन दिए ।
गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समितिलाई अझ सक्रिय बनाउँदै पीडितका गुनासा सुन्ने र समाधान गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन सकिएमा बाहिर देखा परेका भ्रमपूर्ण धारणा हटाउन सकिने मन्त्री अर्यालको भनाइ थियो ।

प्रतिक्रिया