सोमबार, पुष ७, २०८२

देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

नेपालखोज २०८२ कार्तिक ३० गते १७:५४

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी ‘जेनजी’ प्रदर्शनका क्रममा हिरासतबाट मागेका थुनुवा र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा सुरक्षामाथि चुनौती थपिएको भन्दै समस्या समाधान गर्न आग्रह गरेका छन् ।

आयोगको टोललिे प्रदर्शनपश्चात उपत्यकाभित्रका हिरासत कक्षको अवस्था सम्बन्धमा यही कात्तिक २७ र २८ गते अनुगमन गरेको जनाएको छ ।

त्यस क्रममा काठमाडौँका सोह्रखुट्टे, स्वयम्भू, कोटेश्वर, सिंहदरबार, महाराजगञ्ज र कालीमाटीस्थित प्रहरी वृत्त, ललितपुरको जिल्ला प्रहरी परिसर तथा सातदोबाटो वृत्त र भक्तपुरको जिल्ला प्रहरी परिसर, जगाति, मध्येपुर र ठिमीस्थित प्रहरी वृत्तका हिरासतमा रहेका थुनुवाको मानव अधिकार अवस्था र हिरासतको भौतिक संरचनाको अवस्थालगायत विषयमा स्थलगत अनुगमन गरिएको थियो ।

आयोगका प्रदेश तथा प्रदेश शाखा कार्यालयमार्फत पनि उपत्यका बाहिर रहेका हिरासत कक्षको अनुगमन सुरु गरिएको पनि जनाइएको छ ।

आयोगले प्रदर्शनका क्रममा आपराधिक क्रियाकलाप गरेको प्रमाणका आधारमा केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरी भनाइ पाइएको जनाएको छ ।

आयोगले ‘जेनजी’ प्रदर्शनपश्चात प्रहरी हिरासतमा मानवअधिकारको अवस्थाबारे आयोगमा गुनासा, उजुरी र ज्ञापनपत्र प्राप्त भएका, आन्दोलनपश्चात पक्राउ गरिएका प्रदर्शनकारीको स्वास्थ्य परीक्षण गरिएको पाइएको, हिरासतमा रहेका शौचालय तथा सरसफाइको अभावका कारण दुर्गन्ध आएको पाइएको जनाएको छ ।

केहीले आफूलाई पक्राउ गर्दा पक्राउ पुर्जी नदिएको आयोगको टोलीसमक्ष गुनासो गरेका र केहीले हिरासतमा महिला कक्षका साथै भौतिक संरचनाको अभाव रहेकालगायत जानकारी अनुगमनबाट प्राप्त भएको जनाइएको छ ।

प्रतिक्रिया