सोमबार, पुष ७, २०८२

स्वास्थ्य केन्द्रका लागि पाँच रोपनी बढी जग्गा दान

नेपालखोज २०८२ मंसिर २ गते २०:३४

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१४ स्थित केशवटार आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि यहाँका दुई व्यक्तिले पाँच रोपनी १२ आना जग्गा दान गरेका छन् ।

स्थानीय अमृता आले र नरबहादुर थापाले करिब रु चालिस लाख बराबरको जग्गा दान गरेका हुन् । पहिलो चरणमा एक ढलानको चारकोठे सुविधा सम्पन्न भवन निर्माणको लागि काम सुरु गरिएको कार्यवाहक वडाध्यक्ष दुर्गा आलेले जानकारी दिए ।

व्यास नगरपालिकाको सहयोगमा रु पच्चीस लाख बजेट विनियोजनपश्चात भवन निर्माणका लागि शिलान्यास गरी काम अघि बढाइएको कार्यवाहक वडाध्यक्ष आलेले बताए ।

विसं २०७२ को भूकम्पले उक्त भवन चर्किएर छियाछिया भएकाले जोखिम मोलेर कर्मचारीले सेवा दिँदै आएकाले नयाँ भवनका लागि पहल गरिएको हो ।

उक्त स्वास्थ्य केन्द्रमा वडावासीका साथै छिमेकी पालिका बन्दीपुर–३ का सुखौरा र रामकोटलगायत क्षेत्रका बासिन्दाले सहज रूपमा सेवा लिँदै आएको अध्यक्ष आलेले बताए ।

प्रतिक्रिया