आइतबार, पुष ६, २०८२

कोप–३१ आयोजनामा अस्ट्रेलिया–टर्की विवाद चुलिँदा अल्बानिज ‘पछाडि हट्न’ तयार

नेपालखोज २०८२ मंसिर ३ गते १४:३८

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सन् २०२६ को संयुक्त राष्ट्र जलवायु सम्मेलन (कोप–३१) आयोजनाका लागि टर्कीलाई रोक्ने कुनै प्रयत्न नगर्ने स्पष्ट सङ्केत दिएका छन् । उनले क्यानबेराले कूटनीतिक विवादलाई अनावश्यक रूपमा चर्किन नदिई ‘अगाडि बढ्न सकिने’ सम्भावनासमेत सङ्केत गरेका छन् । यो विवादले ब्राजिलमा जारी यो वर्षको कोप–३० वार्तालाई ओझेलमा पारिरहेको छ ।

ब्राजिलमा रहेका कूटनीतिज्ञहरूले अस्ट्रेलिया र टर्की दुवैबाट आएका प्रतिद्वन्द्वी आयोजना प्रस्तावहरू समाधान गर्न केही दिन मात्र पाएका छन् । संयुक्त राष्ट्रसङ्घको प्रणाली अनुसार सहमतिपत्र नजुटे दुवै देश स्वतः प्रतिस्पर्धाबाट बाहिरिनेछन् र सम्मेलन पूर्वनिर्धारित रूपमा जर्मनीको बोन सहरमा सारिनुपर्ने बाध्यता आउनेछ । यसलाई धेरै देशले असहज विकल्प मानिरहेका छन् ।

मङ्गलबार साँझ प्रधानमन्त्री अल्बानिजले पहिलोपटक सम्भावित ‘पछाडि हट्ने’ सङ्केत गर्दै भने, ‘यदि अस्ट्रेलिया छनोट भएन भने र यदि टर्कीले आयोजना पायो भने हामी यसलाई भिटो गर्ने प्रयास गर्दैनौँ ।’ उनका अनुसार त्यसका लागि कुनै औपचारिक मतदान प्रक्रिया थिएन र विजेता केवल सर्वसम्मतिले मात्र निर्धारण हुने संयुक्त राष्ट्रसङ्घको नियम रहेको बताए ।

अल्बानिजले भने, यदि सहमति जुटेन र दुई उम्मेदवार नै टसमस रहिरहे भने सम्मेलन स्वाभाविक रूपले बोनमै जान्छ । प्रशान्त क्षेत्र मात्र होइन अन्तर्राष्ट्रिय समुदायबाट पनि चिन्ता व्यक्त भइरहेको छ कि यस्तो विवादले विश्वलाई जलवायु कार्यमा आवश्यक एकताको सकारात्मक सङ्केत दिन सक्दैन ।

अस्ट्रेलियाले उष्णकटिबन्धीय चक्रवात र बढ्दो समुद्री सतहको जोखिममा रहेका प्रशान्त टापुका छिमेकीहरूसँग मिलेर कोप–३१ को आयोजना अधिकारका लागि प्रतिस्पर्धा गरिरहेको छ । तर अनुमान अनुसार सम्मेलन आयोजना खर्च तीन अर्ब डलरसम्म पुग्न सक्छ भन्ने विश्लेषणले केही पक्षहरूलाई सतर्क बनाएकाले अस्ट्रेलियाभित्रै सरकार विभाजित देखिन्छ ।

प्रधानमन्त्री अल्बानिजले विश्व जलवायु एजेन्डामा प्रशान्त टापु राष्ट्रहरूको आवाज बलियो बनाउन अस्ट्रेलियाले अन्य वैकल्पिक मार्गहरू अपनाउन सक्ने बताए । उनले भने, हामी प्रशान्तलाई फाइदा हुने उपायहरू, जस्तै प्रशान्त क्षेत्रीय नेताहरूको छुट्टै उच्चस्तरीय बैठकजस्ता विकल्पहरू पनि खोजिरहेका छौँ ।

प्रधानमन्त्रीको टिप्पणीपछि अस्ट्रेलियाली सरकारका प्रवक्ताले देशसँग अझै पनि सम्भावित आयोजकका रूपमा ‘उच्च समर्थन’ रहेको पुनः पुष्टि गरे । प्रवक्ताले भने, हामी प्रशान्त क्षेत्र र अस्ट्रेलियाको राष्ट्रीय हितलाई केन्द्रमा राख्दै टर्कीसँग जिम्मेवार संवाद जारी राख्नेछौँ ।

यसअघि जलवायु मन्त्री क्रिस बोवेनले अस्ट्रेलिया अझै पनि टर्कीको प्रतिस्पर्धालाई पराजित गर्न ‘कडा प्रयास’ जारी रहेको बताएका थिए । ब्राजिलमा एएफपीसँग कुरा गर्दै उनले भने, यो कसरी अघि बढ्छ, हामीले हेर्नै बाँकी छ । तर हामी जित्नका लागि पूर्ण रूपमा तयार छौँ ।

अस्ट्रेलियाले टर्कीले प्रस्ताव गरेको ‘अध्यक्षता पद साझा गर्ने’ विकल्पलाई अस्वीकार गरिसकेको छ । यी जटिल कर्तव्यहरू दुई टाढै रहेका देशबीच बाँडेर सम्भव नहुने अडान क्यानबेराले स्पष्ट जनाएको छ ।

प्रतिक्रिया