कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय अन्तर्गतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खरेलले उक्त निर्देशन दिएका हुन् ।
मन्त्री खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाउन आग्रह गरे । उनले सार्वजनिक सेवा प्रसारणको ‘कन्टेन्ट’मा नवीनता र सिर्जनशिलता तथा प्रस्तुतिमा निखारपन आउनुपर्नेमा जोड दिए ।
मन्त्री खरेलले दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई अपेक्षित उपलब्धि हासिल गर्न निर्देशन दिए । उनले सुरक्षण मुद्रण केन्द्रले सवारी अनुमति पत्र छाप्न थालेसँगै सर्वसाधारणलाई वितरण गर्न पनि आग्रह गरे । उनले सङ्घीय सरकारका सबै मन्त्रालयलाई ‘पेपरलेस’ बनाउने काम माघ महिनाभित्र सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।
‘डिजिटल ट्रान्सफरमेशन’का लागि पेपरलेस अनिर्वाय भएको उनले उल्लेख गरे । अहिले अर्थ मन्त्रालय र सञ्चारमन्त्रालयलाई पेपरलेस बनाइएको छ । मन्त्री खरेलले सहज रुपमा आम नागरिकले पाउने सेवामा कुनै पनि ढिलासुस्ती नगर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिए ।








प्रतिक्रिया