फ्रान्सेली वैज्ञानिकद्वारा क्यान्सर उपचारमा एमआरएनएको सम्भाव्यता परीक्षण

काठमाडाैं । फ्रान्सको ऐतिहासिक सहर अर्लिन्सस्थित एक अत्याधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव शरीरभित्र कार्य गर्ने ‘मेसेन्जर आरएनए’ (एमआरएनए) का क्षमताहरू परीक्षण गर्दै घातक क्यान्सर उपचारमा क्रान्ति ल्याउने सम्भावना खोजिरहेका छन् । कोभिड-१९ खोपमार्फत विश्वभर चर्चित बनेको एमआरएनए प्रविधि अहिले क्यान्सरविरुद्धको नयाँ आशाका रूपमा उदाउँदै छ ।
एमआरएनए अणुहरूले शरीरका प्रत्येक कोषमा डिएनएबाट आनुवंशिक सन्देश बोकेर विशिष्ट प्रोटिन उत्पादन गराउँछन् । ‘क्यान्सरको हकमा, यही सन्देशले बिरामीको शरीरलाई ट्युमरविरुद्ध प्रभावकारी रूपमा लड्ने क्षमता दिन सक्छ’, फ्रान्सेली अनुसन्धान संस्थान आइएनएसइआरएम अन्तर्गतको एआरटी प्रयोगशालाका परियोजना प्रबन्धक दिमित्री सिम्जाकले भने ।
एमआरएनए सन् १९६० को दशकमै खोजिएको भए पनि कोभिड महामारीका बेला यस प्रविधिले नयाँ पुस्ताका खोपहरू अत्यन्त छिटो विकास गर्न मद्दत गरेपछि विश्वव्यापी रूपमा चर्चित बन्यो । यस महत्त्वपूर्ण उपलब्धिका कारण सन् २०२३ मा चिकित्साशास्त्रमा नोबेल पुरस्कार समेत प्रदान गरिएको थियो । अहिले एमआरएनए सम्बन्धी अनुसन्धानको ठूलो हिस्सा क्यान्सरविरुद्ध खोप विकासमा केन्द्रित छ ।
‘तर यो प्रविधिसँग धेरै अन्य सम्भावनाहरू पनि छन्’, एआरटी प्रयोगशालाका प्रमुख चान्टल पिचोन भन्छन्, ‘प्रतिरक्षा प्रणाली सुदृढ पार्न, क्षतिग्रस्त कोषहरूको पूर्ति गर्न, आनुवंशिक तथा दुर्लभ रोगहरू लक्ष्य गर्न वा एलर्जी नियन्त्रणमा पनि यसको उपयोग हुन सक्छ ।’
पिचोनका अनुसार विश्वका अग्रणी फार्मास्युटिकल कम्पनीदेखि स्टार्टअपसम्मका संस्थाहरूले हाल २०० भन्दा बढी एमआरएनए क्लिनिकल परीक्षण सञ्चालन गरिरहेका छन्, जसको ठूलो हिस्सा अमेरिका, चीन र जापानमा केन्द्रित छ । तथापि, फ्रान्ससँग पनि एमआरएनए प्रविधिमा कार्यरत उत्कृष्ट आधारभूत अनुसन्धान टोलीहरू रहेको उनी बताउछन्।
एआरटी प्रयोगशालामा वैज्ञानिकहरूले विभिन्न प्रकारका एमआरएनए तयार गरेर तिनीहरूको विषाक्तता र प्रभावकारिताको जाँच गरिरहेका छन् । प्रायः प्रयोगशालामा उत्पादन गरिने आरएनए परीक्षण ट्युबमै निर्माण हुन्छ, जुन महँगो प्रक्रिया हो र धेरैजसो अमेरिकी कम्पनीहरूको पेटेन्टमुनि पर्छ ।
यसै कारण प्रयोगशालाको अर्को टोलीले खमीर प्रयोग गरी आरएनए उत्पादन गर्ने लागत-कम विधि विकास गरिरहेको छ, जसले खर्च १० देखि ५० गुणासम्म घटाउन सक्ने अपेक्षा गरिएको छ । तर यस्तो आरएनए औषधि उद्योगको उच्च मापदण्ड पूरा गर्न पर्याप्त शुद्ध र सुरक्षित हुन आवश्यक छ ।








प्रतिक्रिया