एनबिआईद्धारा सम्पती सुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी गोष्ठी सम्पन्न

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) ले सम्पती सुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी र यसको जोखिमको बिषयमा गोष्ठी सम्पन्न गरेको छ । एनबिआईका अनुसार बिहीबार भएको कार्यक्रममा एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले सम्मेलन आयोजना गर्नाको उद्देश्यका बारेमा जानकारी दिँदै स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सो सम्मेलनमा मुख्यतया एफएटिएफले नेपाललाई ग्रे लिस्टमा राखेपछि नेपालले सो लिस्टबाट बाहिर निस्किनका लागि चाल्नुपर्ने विभिन्न कदमहरुका बारेमा छलफल गरिएको थियो । सो सन्दर्भमा विभिन्न स्वदेशी तथा विदेशी वक्ताहरुले आफ्नो धारणा राख्नु भएको थियो ।
यसै सन्दर्भमा मङ्गोलियाको केन्द्रीय बैंकका निर्देशक गनमेट दबाखुले कसरी एक वर्ष भित्रै मङ्गोलिया ग्रे लिस्टबाट बाहिर निस्कन सफल भयो भन्ने सम्बन्धमा आफ्ना अनुभवहरू तथा धारणाहरू व्यक्त गरे ।
विभिन्न बैंक तथा वित्तीय संस्थाहरू तथा सूचक संस्थाहरूबाट करिब एक सय ५० जना सहभागी उक्त कार्यक्रममा नेपाल सरकार अर्थमन्त्रालयको सम्पत्ति शुद्धिकरण शाखाका डा. हरिकुमार नेपाल, नेपाल सरकार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका निर्मल ढकाल, नेपाल राष्ट्र बैंक सम्पत्ति शुद्धिकरण निवारण सुपरिवेक्षण महाशाखाका प्रदीप बानिया, नेपाल बीमा प्राधिकरणका हृदयश्वर पण्डित तथा नेपाल धितोपत्र बोर्डका रिताम्बरा बस्नेतले सम्पत्ति शुद्धिकरण रोकथामका उपायहरूको चर्चा गर्दै नेपाल ग्रेलिस्टबाट बाहिर निस्किनका लागि चाल्नुपर्ने आवश्यक कदमहरूका बारेमा प्रस्तुतिकरण दिएका थिए ।
सोही अवसरमा भुवन दाहालद्वारा सहजीकरण गरिएको सामूहिक छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशकहरु आर्या जोशी र वासुदेव भट्टराई, नेपाल एसबिआइ बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी तथा मङ्गोलियाको केन्द्रीय बैंकका निर्देशक गनमेट दबाखुले सम्पत्ति शुद्धिकरण रोकथाम तथा नेपालले ग्रे लिस्टबाट बाहिर निस्किनका लागि चाल्नुपर्ने आवश्यक कदमहरूका बारेमा आआफ्नो विचार व्यक्त गरे ।कार्यक्रमकोसञ्चालन एनबीआईका नायब महाप्रबन्धक धनबहादुर थापाले गरेका थिए ।








प्रतिक्रिया