आइतबार, पुष ६, २०८२

काठमाडौंमा ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु

नेपालखोज २०८२ मंसिर ५ गते १६:४२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण सुरु गरेको छ । आज राष्ट्रिय ट्रमा सेन्टरमा प्रदर्शनका घाइतेको चोटपटकको गम्भीरताअनुसार वर्गीकरण सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यथाशक्य घाइतेहरूको छिटो वर्गीकरण गरेर स्वास्थ्य मन्त्रालयमा सिफारिसका लागि पठाइने जानकारी गराए । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार अस्पतालमा उपचाररत घाइतेलाई अस्पताल पुगेर वर्गीकरण गर्ने र सिफारिस गरेर पठाउने जानकारी गराए ।

वर्गीकरणका लागि घाइते परिचयपत्र बोकेर करिब १०० जना घाइते ‘जेनजी’ हरू ट्रमा सेन्टरमा पुगेका थिए ।

सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२ जारी गरिसकेको छ । घाइतेलाई अतिगम्भीर, गम्भीर, मध्यम र सामान्य घाइतेगरी चार प्रकारमा वर्गीकरण गर्ने भनिएको छ ।

घाइतेमध्ये चोटपटकका आधारमा अतिगम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटकका आधारमा छुट्याउने गरिएको छ । वर्गीकरणका आधारमा परिचयपत्र उपलब्ध गराई सोहीअनुसारको सुविधा उपलब्ध गराउने सरकारको नीति छ ।

प्रतिक्रिया