आइतबार, पुष ६, २०८२

लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै

नेपालखोज २०८२ मंसिर ५ गते २०:५२

सिरहा । जिल्लाको लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया सघन रूपमा अघि बढेको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता रङ्गशाला निर्माण प्रक्रियाको अवस्थाबारे जानकारी लिन आज स्थलगत निरीक्षणका लागि यज्ञभूमि पुगेका थिए ।

निरीक्षणका क्रममा मन्त्री गुप्ताले मन्त्रालयबाट रु तीन करोड बजेटको व्यवस्था भइसकेको जनाउँदै प्रविधिक अध्ययनको काम भइरहेको बताए । विगतमा विभिन्न कारणले रोकिएको बजेट फुकुवाका लागि अर्थ मन्त्रालयमा फाइल पुगेकाले प्रक्रिया पूरा भएलगत्तै काम सुरु हुने उहाँले विश्वास दिलाए ।

लहान क्रिकेट क्लबका अध्यक्ष विमल ठाकुरका अनुसार उक्त क्षेत्र सरकारी जग्गा भएकाले रङ्गशाला निर्माण सहज हुने बताउँदै लहान नगरपालिकाले रु दुई करोड सहयोग घोषणा गरिसकेको जानकारी दिए । मन्त्रालयको रु तीन करोडसहित रु पाँच करोडको प्रारम्भिक काम शीघ्र सुरु हुने उनले बताए ।

पहिले सार्वजनिक भइसकेको डिजाइनअनुसार विस्तृत परियोजना प्रतिवेदन डिपिआर) तयार गर्ने काम भइरहेको क्लबले जनाएको छ । मन्त्री गुप्ताको गृहनगर भएकाले रङ्गशाला निर्माणप्रति स्थानीयस्तरमा थप आशा बढेको छ । -रासस

प्रतिक्रिया