आइतबार, मंसिर २८, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

नेपालखोज २०८२ मंसिर ९ गते १४:३८

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२६ कालिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय मिलिग्राम सहित सोही महानगरपालिका–१ बगर बस्ने २८ वर्षीय मनोज श्रेष्ठलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.२५ प १९२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–७ राजापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका–१३ बस्ने ३४ वर्षीय कर्ण बहादुर विकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र नगद १२ हजार ६ सय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका–५ तुलसीपुर बस्ने २१ वर्षीय दिपक थापा क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ बदेलधाप बस्ने २९ वर्षीय सिताराम दोङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजार बस्ने ३३ वर्षीय दिलिप कुमार माझी र उनकै श्रीमती ३० वर्षीया रोमा राणा रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ७६३३ नम्बरको सिटीसफारीलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक दिलिप र रोमालाई पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–१४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही उपमहानगरपालिका–१५ बस्ने २७ वर्षीय सनम लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विजयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित रामधुनी नगरपालिका–५ बस्ने २१ वर्षीय सन्तोष राईलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले चिरौलीबाट इनरूवातर्फ आउँदै गरेको को.३१ प २९५२ नम्बरको मोटसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सप्तरी बोदेबरसाइन नगरपालिका–१० बस्ने १९ वर्षीय दुर्गानन्द यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका–१० बस्ने २१ वर्षीय बिनोद थापामगर र सुर्खेत लेकबेसी नगरपालिका–१ बस्ने २५ वर्षीय बिकाश पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ

सर्लाहीको मलंगवा नगरपालिका–८ बाट स्रोत नखुलेको नगद १ लाख ९८ हजार रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सीतामढी सोनवर्षा–४ बस्ने ४६ वर्षीय दिलिप ठाकुर र १९ वर्षीय सोनु शर्मा रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बा.८९ प ६२५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

सिराहाको सिरहा नगरपालिका–१७ बाट स्रोत नखुलेको भारतीय १ लाख ३९ हजार ३ सय रूपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी जयनगर बस्ने २५ वर्षीय अरजित कुमार यादव, ४० वर्षीय संजय कुमार साह र ३५ वर्षीय मो. गुलसाह रहेका छन् । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौंको दक्षिणकाली नगरपालिका–५ डोल्लुस्थित सडकमा प्र.३–०२–०१० प ४२६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ६० वर्षीय राम बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको महागढीमाई नगरपालिका–८ धरमपुर चोकस्थित सडकमा म.प्र.०३–००१ त ८३२० नम्बरको धान काटने कम्पाईन मेसिनले हाल नम्बर नखुलेको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रौतहट मौलापुर नगरपालिका–२ गम्हरिया बस्ने २० वर्षीय रूपेश साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि कीर्तिपुर बर्न अस्पताल काठमाडौं रेफर गरिएको छ । कम्पाईन मेसिनले उक्त मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा आगलागी भई मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ । हाल फरार कम्पाईन मेसिनका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

लमजुङको राइनास नगरपालिका–६ स्याउली ढलेबर चोकस्थित सडकमा ना.४८ प ३०७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ६८ वर्षीया मैती कुमारी तामाङको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सहोदर सामुदायिक अस्पताल धमिलिकुवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सुनसरीको धरान उपमहानगरपालिका–१७ पटनाली बस्ने ५० वर्षीय गोपाल बस्नेतको गोठमा गए राति आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–६ गैरीगाउँ बस्ने भेषराज घिमिरेको गोठमा सोमबार राति आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रोल्पाको रोल्पा नगरपालिका–६ जिबाङ बस्ने ५७ वर्षीय भानबीर घर्ती मगरको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी

टोखा नगरपालिका–३ सूर्य दर्शन हाईट डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–७ घर भएका ३६ वर्षीय प्रकाश श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब ५ लाख ८४ हजार रूपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया