आइतबार, मंसिर २८, २०८२

रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

नेपालखोज २०८२ मंसिर १० गते १०:४७

काठमाडाैं । रौतहटको फतुवा-विजयपुर नगरपालिका-६ रामदासी टोलमा एक युवकको माइकमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार राति करेन्ट लागेर गम्भीर घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति करिब पौने १० बजेको समयमा आफ्नै घरमा माइकको तार जडान गर्ने क्रममा अचानक विद्युत् प्रवाहमा परेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल नेशनल हस्पिटल विजयपुरमा उपचार गरिएपछि थप उपचारका लागि कोल्हवी बारातर्फ लगिएको थियो ।

प्रहरीलाई घटनासम्बन्धी जानकारी प्राप्त लगत्तै इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट प्रहरी टोली स्थानीय अस्पताल पुगेको प्रहरीले जनाएको छ ।

कोल्हवी लैजाने क्रममा बाटैमा महतोको मृत्यु भएको अस्पतालले राति ११ बजेर ५५ मिनेटमा प्रहरीलाई जानकारी गराएको हाे ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया