शनिबार, पुष ५, २०८२

रास्वपाको सचिवालय बैठकले गर्‍यो ५ बुँदे निर्णय

नेपालखोज २०८२ मंसिर १० गते १२:११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले पाँच बुँदे निर्णय गरेको छ । रास्वपाको सचिवालय बैठकले सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन आह्वान गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको केन्द्रीय समितिको यही ३ मंसिरमा बसेको बैठकको निर्देशानुसार सबै वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउनेगरी अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरेकाे हाे ।

बैठकले सबै पालिकामा र्यापिड एक्सन फोर्स गठन गर्ने निर्णय समेत गरेको छ भने कीर्तिपुर नगर समिति भङ्ग गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् बैठकका ५ बुँदे निर्णय

१. विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भयो । सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन केन्द्रीय समितिको २०८२ मङ्सिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरियो । सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरू मुलुकको अर्थ-राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरियो ।

२. पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरूको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरियो ।

३. प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो ।

४. सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरियो ।

५. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरियो ।

प्रतिक्रिया