शनिबार, पुष ५, २०८२

तराईबाट सख्खर ल्याएर परम्परा धान्दै टोखाका चाकु व्यवसायी

नेपालखोज २०८२ मंसिर १० गते २१:००

काठमाडौं । काठमाडौंको टोखाका चाकु व्यवसायीले तराईबाट सख्खर ल्याएर व्यवसाय धान्दै आएका छन् । माघे सङ्क्रान्ति आउन डेढ महिना बाँकी हुँदा टोखाका उद्योगीहरूले चाकु बनाउन सुरु गरेका छन् ।

टोखा नगरपालिका–२ र ३ मा चाकु बनाउने नेवार समुदायको पुरानो बस्ती छ । टोखा चाकुका लागि प्रख्यात ठाउँ हो । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । कुनैबेला टोखा उखुखेती तथा चाकु उत्पादनका लागि देशमै प्रसिद्ध थियो । तर हाल उक्त ठाउँमा उखुखेती छैन ।

बढ्दो सहरीकरणले टोखा वरपर उखुखेती मासिएको छ । उखुखेती मासिएसँगै उद्योगीले तराईबाट सख्खर ल्याएर चाकु बनाउने पेसालाई निरन्तरता दिएका छन् ।

टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठ हाल कपिलवस्तुको चन्द्रौटा बजारबाट सख्खर ल्याएर चाकु बनाउँदै आएको बताउँछन् । टोखामा हाल १८ कम्पनीले चाकु उत्पादन गर्दै आएका छन् । विगतमा १४ कम्पनी रहेपनि हाल चाकु उद्योगको सङ्ख्या बढेको हो ।

टोखा परम्परागत चाकु संरक्षण समाजले नयाँ युवालाई चाकु उत्पादनमा प्रोत्साहन गर्नुका साथै विश्वव्यापी बजारीकरणका लागि तीनै तहका सरकारसँग सहकार्य गरिरहेको छ । टोखाको परम्परागत उखु खेतीलाई प्रवर्द्धन गर्न उखुखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम अगाडि सारेको छ ।

टोखामा उत्पादित चाकु असन, इन्द्रचोक, मनमैजु, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिर नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । संस्थापक अध्यक्ष श्रेष्ठ टोखामा उत्पादित चाकु नेपालसहित विदेशमासमेत धेरै माग हुँदै आएको बताउँछन्। टोखामा उत्पादित चाकु जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा बिक्री हुँदै आएको छ ।

टोखाका चाकु उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।

प्रतिक्रिया