लघुवित्त संस्थालाई कर्जा प्रवाहमा सहज

काठमाडौं । लघुवित्त संस्थाहरुलाई कर्जा प्रवाहमा सहज भएको छ । राष्ट्र बैंकले मंगलबार लघुवित्त संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै कर्जा प्रवाहलाई थप सहज बनाएको हो । राष्ट्र बैंकका अनुसार “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन/परिमार्जन/थप गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
सो निर्देशन अनुसार कर्जा सम्बन्धी सम्पुर्ण आवश्यक कागजात तथा धितो कर्जाको हकमा सुरक्षण समेत पर्याप्त भएको प्रमाण, कर्जा असुल हुने सम्भावनाबारे इजाजतपत्रप्राप्त संस्था विश्वस्त भएको आधार, तथा पुनरतालिकीकरण मार्फत व्यवसायको निरन्तरताका सम्बन्धमा संस्था आश्वस्त भएमा कर्जाको पुर्नतालिकीकरण गर्न सकिने छ ।
कर्जालाई पुनरतालिकीकरण गर्न लिखित कार्ययोजना पेश हुनुका अतिरिक्त त्यस्तो कर्जा पुनरतालिकीकरण गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा २५ प्रतिशत ब्याज रकम असुल उपर भएको तथा पुनरतालिकीकरण गरेको कर्जाको हकमा सो वापत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।
परिपत्र अनुसार खुद्रा कर्जा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थालाई देहाय बमोजिमको कर्जा सीमा कायम गरिएको छ । विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका ब्यक्तिहरुलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाइ प्रतिव्यक्ति बढीमा १५ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिनेछ । समूहमा आवद्ध भएको सदस्यलाइ एकै अवधिमा समूह कर्जा वा धितो कर्जा मध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ ।








प्रतिक्रिया